को हुन् जनताकी सारथि (नमुना) ? जोसँग विकासप्रेमी भाव छ !

बाँके । रुकुम तत्कालीन नेकपा माओवादीको उद्गमस्थल मानिन्छ । माओवादीले जनयुद्ध यहीबाट सुरु गरेको थियो । त्यतिबेला रुकुमका हजारौं नागरिक जनयुद्धमा सहभागी भए ।

२०५२ फागुन १ गते एकैसाथ सिन्धुली, गोरखा, रोल्पा र रुकुमबाट राजतन्त्रलाई समाप्त र जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ जनयुद्ध सुरु भएको थियो ।

हो यही जिल्लामा जन्म भएको थियो, निवर्तमान लुम्बिनी प्रदेश सांसद तथा नेकपा माओवादी केन्द्रकी युवा नेतृ कृष्णा केसी (नमुना)को । सामान्य परिवारमा जन्मिन्ुभएकी नमुनाले आधारभूत शिक्षा मात्र रुकुममा लिनुभयो ।

२०४८ सालमा उहाँका बुवा चन्द्रबहादुर खत्री परिवारसहित बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा बसाइँ सरेर आनुभयो । यही खेतीपाती पनि सुरु गर्नुभयो । अनि नमुनाको शिक्षा यहीँबाट अगाडि बढ्यो ।

त्यतिबेलाको राप्तीपारी उहाँका आँखै अगाडी झल्किन्छ ।नझल्कियोस् पनि कसरी, जहाँ उहाँले संघर्षका पाइलाहरु उचाल्नुभयो । जसले विकास प्रेमी भावना जागृत ग¥यो । व्यवस्था परिवर्तन मात्र होइन, अवस्था बदल्न साहस र आट पैदा ग¥यो ।

अनि उहाँले जीवन संघर्षशील बनाउनुभयो । हरेक उतार चढावकाबीच यात्रा गर्नुभयो । त्यसैले पनि उहाँले यो क्षेत्रको समृद्धि चाहनुहुन्छ ।

भनिन्छ, ‘जिन्दगीमा सफलता त्यहीँ व्यक्तिले हात पार्छ जो निरन्तर आफ्नो लक्ष्य प्राप्तिका लागि खटिरहन्छ । मानिस हरेक समय ऊर्जाशील जीवन जिउने अभिलाषा राख्छ ।’ यसको एउटा उदाहरण हुन्, उहाँ जनप्रिय नेतृ नमुना ।

‘हिजो गइसक्यो, भोलि आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं’ यही भनाइसँग उहाँको विकासप्रेमी भाव मिल्दोजुल्दो छ । विकास र सामाजिक कामका लागि भोलि भनेर पर्खिँदैनिन् । किनकी भोलि भोलिनै हो । त्यो आउँदैन । त्यसैले उहाँ आजबाट काम सुरु गर्नुहुन्छ र सफलता प्राप्त गर्नुहुन्छ ।

माध्यमिक तहदेखि नै उहाँ सांगठनिकरुपमा आबद्ध हुनुभएको थियो । त्यतिबेला विद्यार्थीका हकहितका पक्षमा शसक्त आवाज उठाउनु हुन्थ्यो । यहाँका बासिन्दाले आफ्नो समस्या र वास्तविक पीडा बुझ्ने नेता नपाउँदा नमुनालाई अगाडि सारेको थियो ।

२०४७ देखि उहाँ राजनीतिमा आबद्ध हुनुभयो । तत्कालीन नेकपा माओवादीले थालेको जनयुद्धमा उहाँ सुरुदेखिनै जोडिनुभयो । काम गरिखाने मान्छे र बसी खाने मान्छेबीचको खाडल अन्त्यसँगै विभेद्, शोषक वर्गको अन्त्यका लागि उहाँ जनयुद्धमा सहभागी हुनुभयो ।

त्यतिबेला उहाँ बाँकेमै रहनुभयो । विशेषतः नेपालगन्ज हेर्ने जिम्मा पार्टीले उहाँलाई दिएको थियो । ‘काम गरी खाने वर्गलाई जहिले पनि खान नपुग्ने । बसी खाने वर्गलाई कामै नगरी खान पुग्ने,’ उहाँले भन्नुभयो, ‘यो खाडलको अन्त्य गर्न मैले विद्रोह गरेको हुँ ।’

सानै उमेरमा उहाँ परिवर्तनका लागि मैदानमा उत्रिनुभएको थियो । राप्तीपारी (हालको राप्तीसोनारी र नरैनापुर) का लागि नमुनाको योगदान नहुँदो तः बदलिँदो कसरी । सडक, बिजुली, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका हिसाबले यी क्षेत्र दुर्गम थिए । नमुनाको नेतृत्वदायी भूमिकाले दुर्गमबाट सुगमको परिचय बनाउँदैछ राप्तीपारी ।

अहिले दुईवटा राजमार्ग जोडिएका छन् । शिक्षामा महत्वपूर्ण उपलब्धि हासिल भएको छ । विद्यालय नभएका ठाउँमा विद्यालय छन् । शिक्षक नहुने विद्यालयमा शिक्षकको व्यवस्थापन गरिएको छ ।

विद्यार्थीहरु विद्यालय आउन सक्ने वातावरण सिर्जना भएको छ । पूर्वाधार निर्माणले गति लिएको छ । पुलपुलेसा, मोटर बाटाहरु निर्माणले तिव्रता पाएका छन् । नरैनापुरको एक ठाउँबाहेक सबै गाउँ सडक सञ्जालसँग जोडिएका छन् ।

व्यक्ति एक, विकास अनेकका रुपमा नमुनाले आफूलाई स्थापित गरेकी छिन् । ‘कृषिमा क्रान्ति भएको छ,’ उहाँ भन्नुभयो, ‘पर्यटनमा पनि उस्तै उपलब्धि हासिल गरिएको छ ।’ जनता, यहाँको राजनीति दलको साथ र सहयोगमा उहाँले पहिलो चुनाव जित्नुभयो ।

त्यो पहिलो अवसरलाई उहाँले यसरी नेतृत्वमा परिणत गर्नुभयो, जसले रातारात उहाँको नेतृत्व विकास सफलताको सिढी चढ्न थाल्यो । उहाँ भन्नुहुन्छ, ‘जनताले मलाई विश्वास र भरोसा राख्नुभएको छ । म त्यो भरोसा र विश्वासलाई कुठाराघात गर्दैन ।’

२०७४ सालको प्रदेशसभा सदस्यमा यस क्षेत्रका बासिन्दाले नमुनालाई परीक्षणका लागि जिताएका थिए । यो परीक्षणकाल उहाँले सफलतापूर्वक जनताको विश्वास र भरोसालाई निराशामा बदल्ने मौका दिनुभएन । खासगरि समाजको पीधमा रहेको वर्ग, समुदायको सेवक भएर काम गर्नुभयो । अझ विश्वासको पात्रका रुपमा आफूलाई उभ्याइदिनुभयो ।

‘जति मतदान गरे पनि गाउँको मुहार उस्तै । गाउँको विकास नहुँदा आजित भएका आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुले मलाई एकपटक परीक्षण गर्नलाई मत दिनु भएको थियो,’ उहाँले भन्नुभयो, ‘वर्षौंदेखि विकास हेर्न प्रतीक्षा गरिरहेका बासिन्दाका लागि मैले आफ्नो जीवन समर्पण गरे ।’

बर्सेनि आउने विपद्को समय मात्र होइन, महामारीका रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को बेला पनि उहाँले अभिभावकीय भूमिका निर्वाह गर्नुभयो । राहत वितरणदेखि लिएर स्वास्थ्यकर्मी, क्वारेन्टाइन, अक्सिजन, आइसोलेसनलगायतका व्यवस्थापनमा देखाएको भूमिका अहिले पनि नरैनापुरवासी तारिफ गर्छन् ।

नमुना अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा बाँके सहइन्चार्ज हुनुहुन्छ । पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुँदा नमुना उहाँको सचिवालयमा बसेर काम गर्नुभएको थियो ।

Previous articleनेकपा एमाले खजुराका पचास बढी युवा कांग्रेसमा प्रवेश
Next articleमतदाताको घर-घरमा पुग्दै प्रदेश सभा उम्मेदवार कर्ण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here