
बाँके । मुक्त कमलरी विकास मञ्च बाँकेमा आवद्ध मुक्त कमलरीले आगामी मंसिर ४ मा हुने प्रदेश सभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर १ (क) बाट उम्मेदवार रहेकी कृष्णा केसी (नमुना) लाई जिताउने प्रतिबद्धता जनाएका छन् ।
राप्ती सोनारी गाउँपालिका–४ स्थित मञ्चको १२ साधारणसभामा बोल्दै मञ्चकी बाँके अध्यक्ष सुमिता थारुले कमलरीको मुक्तिका लागि नमुनाको योगदान रहेको र मुक्त कमलरीको सशक्तीकरणका लागि समानुपातिक उम्मेदवार संगिता थारूको महत्वपूर्ण भुमिका रहेकोले आफुहरुले गठबन्धनका उम्मेदवारलाई जिताउने बताउनुभयो ।
‘नमुनाले हामी मुक्त कमलरीहरुको व्यवस्थापन, रोजगार र सशक्तीकरणका लागि पहल गर्नुहुनेछ । उहाँपनि महिला हो महिलाको पीडा उहाँले बुझ्नु हुन्छ’ उहाँले भन्नुभयो, ‘त्यसैले हामी उहाँलाई निर्वाचित गराउँछौं।’
कार्यक्रममा बोल्दै समानुपातिक उम्मेदवार संगिता थारुले मुक्त कमलरीका लागि आफुले थुप्रै सचेतना तथा सशक्तीकरणका कार्यक्रमहरु गर्दै आएको र आगामी दिनहरुमा पनि मुक्त कमलरीका क्षमता विकास लागि निरन्तर लागिरहने बताउनुभयो ।
उम्मेदवार कृष्णा केसी (नमुना) ले कमलरी मुक्तिका लागि आफुहरु लड्दै आएकोले कमलरीहरुले मुक्ति पाएको स्मरण गर्दै उनीहरूको आत्मनिर्भर हुन अझै पहलकदमी चाल्दै जाने बताउनुभयो । मुक्त कमलरीका लागि राज्यले अझै थप कामहरु गर्नुपर्ने उहाँको भनाइ थियोे ।





