
नेपालगन्ज । सहकारी वित्तिय विकास संस्था लिमिटेड नेपालगन्जको ४३ करोड रुपैयाँ अपचलन गरेको अभियोग लागेका २ जना व्यक्ति उम्मेदवार बनेको भन्दै सहकारी पिडितले बाँकेका दुई निर्वाचन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
सहकारी पिडित संघर्ष समितिका सह-संयोजक आशुतोष शुक्लाको नेतृत्वमा गएका सहकारी पिडितले सहकारीको रकम अपचलनमा ठगि र संगठित अपराध सम्बन्धी मुद्दाका अभियुक्तद्वय प्रदेशसभा सदस्यको उम्मेदवारहरु अम्बरबहादुर खड्का बाँके क्षेत्र नं. १ (१) र विजयकुमार पाठक बाँके क्षेत्र नं. ३ (२) को उम्मेदवारी खारेजीको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा गत बुधबार ज्ञापनपत्र बुझाएका हुन् ।
दुबै जनालाई जनता समाजवादी पार्टी नेपाल (जसपा)ले उम्मेदवार बनाएको हो । खड्का र पाठक दुबै जनही २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुनुभएको थियाे ।
बाँके क्षेत्र नं.२ का सहायक निर्वाचन अधिकृत नुमानन्द अधिकारीले ज्ञापन पत्र बुझ्दै यस विषयमा अनुसन्धान गर्ने बताउनुभयाे । उहाँले कारबाहीका लागि निर्वाचन आयोगमा नै पत्राचार गर्न सुझाव दिनुभयाे ।
त्यसपछि मुर्दावादको नारा लगाउँदै पिडितहरु जिल्ला निर्वाचन कार्यालयमा पुगेर पनि ज्ञापन पत्र बुझाएको संघर्ष समितिका सह-संयोजक शुक्लाले जानकारी दिनुभयाे ।
सहकारी वित्तिय विकास संस्था लिमिटेड नेपालगन्जको ४३ करोड २ लाख ५३ हजार ९५ रुपैयाँ हिनामिना गरेको अभियोगमा बाँके जिल्ला अदालतमा खड्का र पाठकसहित ४१ जनाविरुद्ध जिल्ला अदालत बाँकेमा ठगि तथा संगठित अपराधको मुद्दा विचाराधीन छ ।
प्रकरणमा ४३ करोड माग दाबी सहित ४१ माथि मुद्दा दायर गरिएको छ । सहकारी पिडितले पहिलो चरणमा एक हजार ९ र दोस्रो चरणमा ५१७ सहकारी पिडितले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । सहकारीका ११ हजार ४०८ बचत र लगानीकर्ताहरु पिडित छन् ।





