
नेपालगञ्ज । चुनावमा मतदातालाई आफूतर्फ आकर्षण गर्न मतदाताले आफ्नो घोषणा-पत्र तथा प्रतिबद्धता-पत्रलाई धेरैभन्दा धेरै आकर्षण बनाउने प्रयास गर्छन् ।
यहाँसम्मकी कतिपयले त आफ्नो उम्मेदवारी पदभन्दा माथिका मुद्दाहरुलाई पनि पत्रमा समावेश गरेको पाइन्छ । त्यसैमा आफ्ना पत्र सार्वजनिक गर्ने बेलामा उस्तै तामझाम, भण्डा, ब्यानरले कार्यक्रम भरेका हुन्छन् ।
तर आज (शुक्रबार) नेपालगञ्जमा स्वतन्त्र उम्मेदवार डा.विनोद कर्णले चुनावी एजेण्डाका रुपमा रहेका प्रतिबद्धता पत्र सार्वजनिक गर्न राखिएको कार्यक्रम धेरै नै बौद्धिक र सालिन देखियो । यहाँसम्मकी उहाँका बोलीमा ताली नबजाई सहभागी बस्नै सकेनन् ।
सम्बोधन गर्दै डा.कर्णले आफूलाई मर्नुभन्दा पहिला नेपालगञ्ज सहरलाई सुन्दर सहरको रुपमा देख्ने रहर भएका बताउँदा कार्यक्रममा उपस्थित सबैको अनुहारमा एकता देखियो । उहाँको पेसा चिकित्सक भएता पनि नेपालगञ्ज सहरलाई सुन्दर बनाउने अभियानमा उहाँ लाग्नुभएको छ । त्यसैले उहाँको हरेक बोलीमा नेपालगञ्जको आत्मिएता झल्किन्छ ।
‘म नेपालगञ्ज सहर सुन्दर भएको देख्न चाहान्छु । नेपालगञ्ज मेरो मुटुसँग जोडिएको शब्द हो । म मर्नुभन्दा पहिला नेपालगञ्ज सहर सुन्दर भएको देख्ने मेरो रहर हो । जसका लागि मैले गर्नुपर्ने प्रयास हरसम्मत हुनेछ,’ उहाँले भन्नुभयो ।
उहाँ आफूलाई राजनीतिक व्यक्ति भन्न रुचाउनु हुन्न । उहाँले आफ्नो पेसा राजनीतिक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो पेसा राजनीति हैन । राजनीति मेरो चासोको विषय हो । म नेपाली जनताले पाउनुपर्ने सेवा सुविधा र हकअधिकार एवम् नेपालगञ्ज सहरलाई सुन्दर बनाउन प्रदेश सदस्यका रुपमा उम्मेदवारी दिएको हो । मलाई राजनीति गर्नु पथ्र्यौ भने अहिलेसम्म कुनै न कुनै राजनीति पार्टीसँग आवद्ध भइसक्थे ।’
उहाँले आफ्ना प्रतिबद्धता पत्रमा पनि आफूले गर्न सक्ने कुरालाई मात्र समावेश गर्नुभएको छ । चिकित्सक पेसामा भएका कारण उहाँले मानव स्वास्थ्यलाई बढी प्राथमिकता दिनुभएको छ । उहाँले दिर्घरोगीदेखि दुर्घटनामा परेका व्यक्तिहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्ने सकिने पत्रमा उल्लेख गर्नुभएको छ ।
त्यस्तै उहाँले हाल समाजमा विकराल रुपमा देखिएको लागूऔषधको समस्यालाई सम्बोधन गर्दै त्यसमा आफूले गर्नसक्ने कामलाई प्रष्ट पार्नुुभयो । जुन कुरा प्राय उम्मेदवारले आफ्नो घोषणा पत्रमा उल्लेख गर्दैनन् ।
त्यस्तै उहाँले शिक्षा, सरसफाई, पर्यटन तथा संस्कृति, किसानमुखी कृषि जस्ता विषयलाई पनि प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो । डा.कर्णले बाँके निर्वाचन क्षेत्र नं २ को (ख)बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार बन्नुभएको हो ।





