
नेपालगञ्ज । अपाङ्गता सम्बन्धिको नीति, नियम र समावेशिताको सवालमा वडास्तरीय अपाङ्गता संजालका पदाधिकारीलाई एक दिने अभिमुखिकरण प्रदान गरिएको छ ।
अपाङ्गताको सवालका बारेमा सरकारले निर्माण गरेका नीति नियमलाई अपाङ्गता क्षेत्रका व्यक्तिलाई जानकारीसहित क्षमता अभिबृद्धि गर्न बुधबार नेपालगञ्जमा एक दिने अभिमुखिकरण प्रदान गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सामाजिक बिकास मंच (एस डिएफ) बाँकेद्धारा संचालित पावर फोर ए वाई परियोजना अन्तर्गत नगरस्तरीय अपाङ्गता संजाल र डेक नेपालको सहकार्यमा नेपालगञ्जमा रहेका अपाङ्गता संजालका पदाधिकारीलाई उक्त अभिमुखिकरण संचालन गरिएको थियो ।
अभिमुखिकरणमा अपाङ्गताको परिचय, प्रकार लगायतका बिषयमा अपाङ्गताका सवालमा काम गर्दै आएका देवीदत्त आचार्य र धिरेन्द्र बिकले प्रस्तुतीकरण गर्नुभएको थियो । यस्तै नेपालगञ्जमा संचालन हुने बिभिन्न कार्यक्रमहरुमा कसरी अपाङ्गताको सवाल, मुद्दा वा व्यक्तिलाई सहभागि गराउन सकिने बिषयमा समेत छलफल गरिएको थियो ।
अभिमुखिकरणमा अपाङ्गताको सवालमा स्थानीय सरकारको कार्यक्रम, नीतिका बारेमा नेपालगञ्ज उपमहानगरपालिका सामाजिक बिकास महाशाखा प्रमुख एवं उपसचिव शोभा शाहले सहजीकरण गर्नुभएको थियो ।
मंचका कार्यक्रम संयोजक राम श्रेष्ठका अनुसार अभिमुखिकरणमा अपाङ्गताको बिबिध सवालको बिषयमा छलफल, निष्कर्ष गर्नुका साथै आगामी दिनमा कसरी अगाडी बढ्न सकिने बिषयमा योजनाहरु निर्माण गरिएको छ ।
यसका साथै मंचले एक दिनअघि नेपालगञ्जमा आफै उद्यम, व्यवसाय संचालन गरेका र गर्ने योजनामा रहेका युवाहरुलाई सामाजिक संजालको उपयोगका बारेमा अभिमुखिकरण दिएको छ ।
पछिल्लो समय सामाजिक संजालको प्रयोग बढ्दै गएकाले सोको उपयोगमार्फत आफ्नो उद्यम, व्यवसायको प्रचार प्रसार कसरी गर्न सकिने बिषयमा पत्रकार समिरमान श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।
मंचले नेपालगञ्जमा संचालित परियोजनामार्फत नेपालगञ्जका युवाहरुलाई उद्यमशीलता, सीप, क्षमता बिकास, शैक्षिक सहयोग जस्ता कार्यहरु गर्दै आएको छ ।







