
यहि मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि सबै सरकारी कर्मचारीहरु निर्वाचन आयोगले खटाएको स्थानमा खटिने छ्न् । आजैबाट निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका बितरण गरिरहेको छ । आज राती १२ बजेबाट ४८ घण्टाको लागि मौन अवधि शुरु गरेको छ । यो अवधिमा उम्मेदवारले के मिल्छ के मिल्दैन । निर्वाचनको तयारी के कस्तो छ भन्ने बिषयमा बाँकेका प्रमुख निर्वाचन अधिकृत धनसिंह महरासंग कुराकानी गरेका छौं ।
निर्वाचनको तयारी कस्तो छ ?
-करिब-करिब पूरा भएको छ । सबै मतपत्र र मतपेटिका लैजाने क्रम जारी छ । मतदान अधिकृतहरु आफ्ना मतदान केन्द्रमा गएर मतदान स्थल घोषणा गर्ने र त्यसको वरपर कुनैपनि किसिमको मत माग्ने प्रचार-प्रसार गर्ने कुराहरु निषेध गर्ने सुचना जाहेर गर्नु हुनेछ ।
बिहिवार रातीबाट मौन अवधि शुरु भयाे, मौन अवधिलाई सामान्य अर्थमा कसरी बुझ्ने ?
-मौन अवधि भन्न्नाले आज राती १२ बजेपछि कुनै किसिमको प्रचार- प्रसार, आम सभा, जुलुस, ब्यानर कुनै किसिमको कार्य गर्न पाइदैंन । मतदातालाई शान्त वातावरणमा सोच्ने अवसरका लागि ४८ घण्टाको मौन अवधि तोकिएको हाम्रो शैद्वान्तिक पक्ष हो । मौन अवधिमा उम्मेदवारले भोट माग्ने भोट दिने सम्बन्धमा कुनैपनि किसिमको प्रचार-प्रसार, जुन सुकै तरह इसाराले मिडियामा होस, भाषण होस तथा सामुहिक रुपमा जम्मा हुने जस्ता कुनै कार्य गर्न मिल्दैन ।
मौन अवधिमा उम्मेदवारले कुनैपनि किसिमको प्रचार-प्रसार गर्न पाइदैन भन्ने हामीले सुन्ने गरेका छौं, तर कयिपत अवस्थामा उम्मेदवारले अरुले थाहा नपाउने तरिकाबाट प्रचार-प्रसार गरिरहेका हुन्छन् । त्यस्तो गरिएको भेटिए निर्वाचन अधिकृतको कार्यालयले के कस्तो कारवाही गर्छ वा हुन्छ ?
-नियम कानुनले निषेध गरिएको कार्य गरेमा हामी छनबिन गर्छौ । त्यस्यो पोख्ता प्रमाण भेटियो भने हामीलाई निर्वाचन आचार संहितामा जे जे उल्लेख छ । जरिवानादेखि लिएर उम्मेदवारी रद्द गर्ने प्रक्रिया थाल्छौं । अवस्था हेरेर कस्तो आचार संहिता उल्लंघन गर्यो त्यही अनुसार कारवाही अगाडि बढाउछौं ।
मतदान प्रकृयाको समय सिमा कति तोकिएको छ ?
-बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म मतदान गर्ने अवधि तोकिएको छ । तर मतदान केन्द्र स्थलमा पाँच बजेभित्र प्रवेश गरेकाहरुलाई मतदान नसकुन्जेल जारी रहनेछ । राती ७.८ बजे पनि बज्न सक्छ ।
मतदानलाई शान्तिपुर्ण निष्पक्ष र भयरहित बनाउन निर्वाचन अधिकृतको कार्यालयले के कस्ताे प्रक्रियाहरू अपनाएकाे छ ? -हामीले सबैलाई सचेत गराएका छाैं । सुरक्षा निकायले गर्नुपर्ने, अपनाउनु सतर्कता सबै पूरा गरिसकिएको छ । ठाउँ-ठाउमा सुरक्षा निकायका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र रास्ट्रिय अनुसन्धानका सबै सुरक्षाकर्मी सबै ठाउँमा खटिसक्नु भएको छ । सबै तयारी पूरा भएको छ । परिचय-पत्र, नागरिकता बाहेक मतदान स्थलमा हातहतियार, जोखिम बस्तु र मोबाइल पनि निषेध गरिएको छ ।
निर्वाचन आचार संहिताको पुर्ण पालना गर्न अनुगमनको पाटो कसरी अगाडी बढाइएको छ ?
-अनुगमन गर्नको लागि निर्वाचन आयोगबाट नै अनुगमन अधिकारी कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खडानन्द अधिकारी ज्यु हुनु हुन्छ । उहाँलाई सबै जिम्मा दिईएको छ । त्यसमा हामी सबै निर्वाचन अधिकृत सुरक्षाअंग निकायका सम्लग्न हुनेछौं । ठाउँ-ठाउँमा गएर पर्चा पम्पलेट, नारा जुलुस के कस्तो भैरहेको छ ।गुनासो आएको ठाउँमा पुग्ने विशेष उहाँले अनुगमन गर्नु हुनेछ । उहाँको रिपोर्ट अनुसार आचार संहिता भएको खण्डमा आवास्यक कारबाही तुरुन्त गर्ने छौ ।
तपाई बाँके जिल्लाको प्रमुख निर्वाचन अधिकृत हुनु हुन्छ, समस्या र चुनौती के छ ? -समस्या त खासमा अहिलेसम्म केही देखिएको छैन । चुनौतीहरु निर्वाचन तरिकाले हुन्छ या हुँदैन भन्ने दुबिधा हो । किनभने शान्तिपुर्ण नहुने वातावरण उति बेला नै हुने हो । त्यस्को लागि सबै तयारी त पूरा छ निर्वाचन शान्तिपुर्ण निष्पक्ष हुनेछ ।





