नेपालगञ्ज म्याराथनको पुरस्कार घोषणा, बिजेताले डेढ लाख पाउने

नेपालगञ्ज । आगामी मंसिर २४ गते नेपालगञ्जमा आयोजना हुने आठौं नेपालगञ्ज म्याराथनको विजेताले एक लाख पचास हजार नगदबाट पुरस्कृत गर्ने भएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सले बिहिवार सो नगद पुरस्कारको घोषणा गरेको हो ।

म्याराथनको अफिसियल होटल सोल्टी वेष्टन्ड प्रिमियरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवं नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बिभिन्न विधाको नगद पुरस्कार घोषणा गर्नुभएको छ ।

शीर्ष आठ धावकलाई नगदबाट पुरस्कृत गर्ने क्रममा म्याराथन (४२.१९५किमी) तर्फ दोस्रोलाई ६० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार, सातौंलाई ७ हजार र आठौंलाई ६ हजार नगद, पदक र प्रमाणपत्रले कदर गरिने छ ।

त्यसैगरी महिला हाफ म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५ हजार, चौथोलाई १० हजार, पाँचौंलाई ८ हजार, छैटौंलाई ७ हजार, सातौंलाई ६ हजार र आठौंलाई ५ हजार नगद, पदक र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

पुरुष १० किमी खुलातर्फ प्रथमलाई ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार तथा महिला ५ किमी खुलातर्फ प्रथमलाई २० हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ७ हजार प्रदान गरिनेछ ।

त्यस्तै विद्यालयस्तरी ५ किलोमिटर छात्र दौडमा प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार एवं ३ किमी छात्रातर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजारले पुरस्कृत गरिनेछ । ह्वीलचेयरमा शीर्ष तीन जनालाई १०हजार, ७ हजार र ५ हजार नगदले पुरस्कृत गरिनेछ ।

कर्पोरेट रनतर्फका विजेतालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रन फर फनमा सहभागी गराइनेछ । त्यसमा हवाई टिकटसहित दुई दिनको आवास तथा भोजनको व्यवस्थापन नेपालगञ्ज म्याराथनले प्रदान गर्नेछ । किड्स रन तथा वाकाथनतर्फ गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

म्याराथन पुरा गर्ने सबैलाई फिनिसर मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष ठकुरीले जानकारी गराउनुभयो ।कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले नेपालगञ्ज म्याराथनले सम्पुर्ण नगरवासीलाई गौरवबोध गराउन सफल भएकोमा आगामी बर्षदेखि उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

टाइटल स्पोन्सर धारा तेलको उत्पादक केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडले धारा तेल र म्याराथनको अन्यानोश्रीत सम्बन्ध रहेको हुँदा सहकार्य गर्दै अघि बढेको बताउनुभयो ।

नेपालगञ्ज म्याराथनका संरक्षक सदस्य सञ्जय सिंहले एम्सको सदस्यता प्राप्त गरी सिंगो ठाउँलाई गौरव गर्ने ठाउँमा पुगेकोमा निकै खुशी लागेको चर्चा गर्नुभयो ।

आठौं धारा नेपालगञ्ज म्याराथन यही मंसिर २४ गते शनिवार आयोजना हुँदैछ । नेपालगञ्ज उपमहानगरपालिका अगाडि सुरु समापन गेट रहने आठौं नेपालगञ्ज म्याराथन जानकी गाउँपालिकाको केही स्थान छुँदै कोहलपुर नगरपालिकादेखि उत्तरतर्फ बानियाभारसम्म पुगेर पुन सोही रुटमा फर्किएर बीपी चोकस्थित फिनिसिङ प्वाइन्टमा सम्पन्न हुनेछ ।

लामो दुरीका धावकलाई उत्साह थप्न सम्पुर्ण जिल्लावासीलाई आआफ्नो तहबाट सहभागिता जनाउन आग्रह गरिएको छ । सहभागिता एवं सक्रियताका आधारमा व्यक्ति एवं संघसंस्थालाई सरप्राइज पुरस्कार तथा सम्मानपत्र प्रदान गरिनेछ । यसको घोषणा चाँडै गरिने आयोजकले जनाएको छ ।

हरेक बर्ष मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको नेपालगञ्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।

नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आएको म्याराथनको तयारी द्रुत गतिमा अगाडि बढाएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं नेपालगञ्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ । नेपालगञ्जको अर्को प्रतिष्ठित व्यवसायिक घराना शिखर प्लाईले सहप्रायोजन गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका संरक्षकको रुपमा रहेका छन् । त्यसैगरी लुम्बिनी खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषद र नेपाल पर्यटन बोर्ड महत्वपुर्ण साझेदार एवं प्रवद्र्धकका रुपमा रहेका छन् । सारमाङ देहरादुन म्याराथनसँग पार्टनर म्याराथनका रुपमा रहेको छ ।

Previous articleआचार संहिता उल्लघन कार्य निगरानीमा : प्रमुख निर्वाचन अधिकृत धनसिंह महरा
Next articleतीन दिनभित्र नतिजा सार्वजनिक गर्ने, बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराख्न सुझाव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here