तीन दिनभित्र नतिजा सार्वजनिक गर्ने, बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराख्न सुझाव

काठमाण्डौ । आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ ।

चुनावको तयारीबारे जानकारी दिन आज बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव भएको तीन दिन अर्थात् मंसिर ७ गते बेलुकासम्ममा प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गरिसकिने कार्ययोजना रहेको बताउनुभयो ।

‘सबै मतपेटिका सङ्कलन भएको लगत्तैदेखि मतगणना सुरु हुनेछ’, उहाँले भन्नुभयो, ‘तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौँ ।’

मंसिर २२ गतेभित्र चुनावको सबै नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउन चाहेको जनाउँदै उहाँले भन्नुभयो, ‘निर्वाचन प्रक्रियामा सबैको प्रतिबद्धता र सहयोग भएको खण्डमा त्यो सम्भव हुन्छ भन्नेमा आयोग ढुक्क छ ।’

अस्वाभाविकरूपले मतदान भएका केन्द्रलाई आयोगले विशेष सूचीमा राख्ने जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा तीन वटा सुरक्षा घेरा रहने व्यवस्था गरिएको बताउनुभयो ।उहाँले कुनै केन्द्रमा अप्रिय घटना भएमा ३० मिनेटभित्र नेपाली सेना पुग्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराख्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिँदै उहाँले वारेसका आधारमा मतदान गर्ने प्रवृत्तिलाई निस्तेज तुल्याइने बताउनुभयो ।

यही मंसिर ४ गते देशैभर एकै चरणमा हुने चुनावको सबै तयारी पूरा भएको आयोगले जनाएको छ । यस चुनावमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता कायम छन् ।

यही मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका बालिग मतादाताले चुनावमा मतदान गर्न पाउने छन् । मतदानका लागि १० हजार आठ सय ९२ मतदान स्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

यस्तै एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट झन्डै चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् ।

Previous articleनेपालगञ्ज म्याराथनको पुरस्कार घोषणा, बिजेताले डेढ लाख पाउने
Next articleबाजुरामा सुरक्षा चुनौती, ७० मध्ये ४ वटा मतदानस्थल मात्र सामान्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here