
काठमाडौं । आम निर्वाचनमा बालबालिकासम्बन्धी आचारसंहिता उल्लंघनका २१८ घटनामा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले निर्वाचन आयोगमा उजुरी दिएको छ ।
उजुरीमा २५ विद्यालय, एक विद्यालय बस र ४ जना शिक्षक प्रयोग भएको भन्दै सिजपले आयोगमा उजुरी दिएको अध्यक्ष राजेश शर्माले बताउनुभयो ।
उहाँका अनुसार ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनका बेला ११५ वटा उजुरी सिजपले आयोगमा दिएको थियो ।सामाजिक सञ्जाल, देशभरि रहेका विभिन्न संस्था र अन्य स्रोतबाट प्राप्त सूचनाका आधारमा ती उजुरी दिइएको शर्माले बताउनुभयो ।
कुल उजुरीमध्ये १४४ वटा बालबालिकालाई प्रचारप्रसार तथा र्यालीमा प्रयोग गरिएका, १२ वटा घरदैलोमा प्रयोग गरिएका, १८ वटा आमसभा, १३ वटा प्रचार सामग्रीमा प्रयोग गरिएका र २९ वटा बालबालिकालाई कलाकारका रुपमा प्रयोग गरिएकाबारे छन् ।
सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी शर्माले उजुरीबारे संक्षिप्त विवरण सार्वजनिक गर्नुभयो । त्यसक्रममा उजुरी परेका मध्ये सबैभन्दा बढी लोकतान्त्रिक वाम गठबन्धनका दलहरुबाट ९८, नेकपा एमालेबाट ७१ र अन्य सात दलबाट ३४ वटा रहेको बताइएको छ ।
स्वतन्त्र उम्मेदवारहरुबाट पनि १३ घटनामा बालबालिकाको प्रयोग भएको पाइएको बताइएको छ ।
दलगतरुपमा कांग्रेसले २२, माओवादीले १३, एकीकृत समाजवादीले ८, लोकतान्त्रिक समाजवादीले ३, नेकपा एमालेले ७१, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राष्ट्रिय प्रजातन्त्र पार्टीले १२, विवेकशील, नेपाल सुशासन पार्टी, जनमत पार्टीले १र१ घटनामा बालबालिकाको प्रयोग गरेको पाइएको शर्माले बताउनुभयो ।
उहाँका अनुसार समग्रमा यसपालिको विवरणले निर्वाचनसँग सम्बन्धित गतिविधिमा विद्यालय तथा बालबालिकाको प्रयोगमा कमी आएको देखिएपनि अझै यो अवस्थामा सुधार ल्याउन बाँकी रहेको देखिएको छ । साभार अनलाईनखबर





