
नेपालगञ्ज । नेपालगञ्जमा रहेका स्वास्थ्य संस्थाहरुमा सरसफाई (वास)मा थप सुधार हुने अपेक्षासहित स्वास्थ्य संस्थाका संचालक तथा प्रमुखहरुसंग छलफल गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र संचालनमा रहेका स्वास्थ्य संस्था, क्लिनिक तथा अस्पतालमा सरसफाई (वास) को अवस्थामा सुधार हुने उद्देश्यले अस्पताल तथा स्वास्थ्य संस्था प्रमुखहरुबीच मंगलबार छलफल गरिएको हो ।
छलफलमा नेपाल सरकारको नीति निर्देशिका, मापदण्ड सरसफाई (वास) संग सम्बन्धित प्रयोगकर्तामैत्री चर्पी व्यवस्थापन, साबुनपानी सहितको हातधुने स्थानको व्यवस्थापन, महिनावारी स्वच्छता व्यवस्थापन, स्वास्थ्य जन्री फोहोर वर्गीकरण, व्यवस्थापन, नीजि क्षेत्रलाई पनि फोहोर निर्मुलीकरण व्यवस्थापन बारे तालिम प्रदान गर्नुपर्ने जस्ता कुराहरुमा गहनरुपमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै भेरी अस्पताल नेपालगञ्जकी नर्सिगं प्रशासक आशा पन्थले स्वास्थ्यजन्य सबैखाले फोहोर एउटैमा मिसाउने कार्यलाई कम गर्नुुपर्ने बताउनुभयो । उहाँले सबै क्षेत्रमा यस्ता कुराहरुमा ध्यान पुर्याउने हो भने पनि संक्रमणलाई कम गर्न सकिने बताउनुभयो ।
यस्तै एच सी आर सी अस्पताल नेपालगञ्जका व्यवस्थापक रमेश सिटौलाले फोहोर व्यवस्थापन सम्बन्धमा उपमहानगरपालिकाले सबै स्वास्थ्य संस्थालाई एउटै फ्लोरमा ल्याउनुपर्ने बताउनुभयो । मासिक रुपमा बैठक बस्ने र स्वास्थ्य क्षेत्रको सुधारका लागि योजना बनाउन आवश्यक रहेको व्यवस्थापक सिटौलाले धारणा राख्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजालले सबै क्षेत्रबाट निस्कने फोहोरलाई त्यसको प्रकृति अनुसार छुट्याउन सक्नुपर्ने बताउनुभयो । उहाँले यो प्रक्रियालाई अवलम्बन गर्न नसकिए नेपालगञ्जमा निर्माण भएको ल्याण्डफिल्ड साईट छिट्टै भरिने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय तथा सहकार्यमा एन एन भि नेपालको आर्थिक सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दियाले संचालन गरेको स्वास्थ्य र बिकासका लागि नगर सरसफाई तथा स्वच्छता परियोजनामार्फत गरिएको छलफलमा उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, एन एन भि नेपालका सहरी अधिकृत सुरज राजभण्डारी, गेरुवाका परियोजना संयोजक गफ्फार अलि शेष लगायतको उपस्थिति रहेको थियो ।





