डुडुवामा कर्मचारीले शुरु गरे चरणबद्ध आन्दोलन (फोटो फिचर)

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा कर्मचारीहरुले आन्दोलन शुरु गरेका छन् । पाँच महिनादेखि तलबविहीन बनेका कर्मचारीले आइतबारदेखि चरणबद्ध आन्दोलन शुरु गरेका हुन् ।

डुडुवा गाउँपालिकाको गाउँसभा नभएको कारण कर्मचारीले साउन महिनादेखि मंसिर महिनासम्मको तलबभत्ता पाएका छैनन् । तलबभत्ता उपलब्ध गराउन माग गर्दै कर्मचारीहरुले पटक पटक गाउँपालिकामा ज्ञापनपत्र बुझाएपनि कुनै सुनुवाई नभएपछि आन्दोलित हुनुपरेको बताएका छन् ।

आन्दोलन स्वरुप शिक्षकहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन । उनीहरुले आज आइतबार कालोपट्टी बाँध्ने शिक्षण कार्य गर्ने, २६ गते आधा दिन मात्र पढाउने, २७ गते पेन डाउन, २८, २९ र पुस १ मा गाउँपालिकामा धर्ना र ३ गतेदेखि गाउँपालिकामा तालाबन्दी गर्ने संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

यस्तै स्वास्थ्यतर्फका कर्मचारीहरुले समेत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएर शान्तिपूर्ण आन्दोलन गरिएपनि हालसम्म कुनै सुनुवाई हुने संकेत नदेखिएकाले आइतबारदेखि वडा कार्यालय समेत बन्द गर्ने निर्णय गरेका छन् ।

डुडुवामा निर्वाचित भएर आएका जनप्रतिनिधिको आपसी राजनितिक द्धन्द्धका कारण हालसम्म गाउँसभा हुन सकेको छैन । गाउँसभा नहुँदा कर्मचारीले तलब भत्ता नपाउनका साथै वडा कार्यालय तथा बिभिन्न शाखामार्फत प्रदान हुने सेवा समेत अवरुद्ध बनेको छ ।

Previous articleआफ्नो भूमिका उत्कृष्ट बनाउन नगर प्रहरीलाई नगर प्रमुख आचार्यको निर्देशन
Next articleपत्रकारमाथि धम्की र दुर्वयवहारप्रति पत्रकार महासंघ बाँकेकाे ध्यानाकर्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here