
बिचमै छुटेको पढाईलाई निरन्तरता दिँदै बाडिया !
नेपालगञ्ज । नेपालगञ्ज वडा नं ११ मा बस्ने सन्तोषी बाडिया घरमा आमाको काम सघाएर समयमै पुग्छिन । बिचमै पढाई छाडेकी सन्तोषी अचेल भने नियमित जस्तो बिद्यालय जाने गर्छिन् । आर्थिक अवस्थाका कारण उनको अध्ययन बिचमै छुटेको थियो ।
बिद्यालयमा फिस तिर्न नकेपछि पढाई छुटेको उनी बताउँछिन् । नेपालगञ्जको सरस्वती माध्यमिक बिद्यालयमा १२ कक्षामा उनी अध्ययनरत छिन् । बुवाको कमाईले घरखर्च चलाउन मुस्किल भएपछि नै पढाई बिचमै छाड्नुपरेको थियो । पढ्ने इच्छा भएपनि आर्थिक अवस्थाका कारण बिचमै छोड्नुपर्यो, सन्तोषीले भनिन, सहयोगी पाएपछि फेरि ज्वाईन गरे ।
सहज बन्यो दैनिकी !
हनिफ हलवाईको घर नेपालगञ्ज वडा नं ४ को वडा प्रहरी कार्यालय नजिकै छ । करिब ५० ५५ वर्ष कटेका हलवाई शारीरीक रुपमा अशक्त छन् । उनको खुट्टामा अचानक देखिएको समस्याले गर्दा हिडडुल गर्न पनि गाह्रो छ ।
घर खर्च चलाउन घरको एक कुनामा हलवाई सिलाईको काम गर्छन् । श्रीमान श्रीमती मात्रै रहेका हलवाई परिवारलाई केही समय अघिसम्म खुट्टाको समस्याले च्यापेपछि दिनचर्या धेरै कठिन भएको थियो ।
हलवाईलाई दिसापिसाब जान पनि गाह्रो थियो । घरमा अपांङ्गमैत्री शौचालय थिएन । जसका कारण शौचालयमा बस्न सक्दैनथे । तर उनको समस्या हाल नगरस्तरीय अपांङ्गता संजालमार्फत समाधान गरिएको छ ।
समस्या समाधानसंगै खुट्टा पनि अलि अलि ठिक हुन लागेको हलवाईले बताए । घरमा आफुले सोचेअनुरुप कम्बोड वाला शौचालय निर्माण गरिएको छ । बिस्तारै खुट्टामा सुधार देखिएसंगै पलंगमै बसेर सिलाई कटाई पनि गर्न थालेका छन् । पहिलेकोभन्दा अहिले दैनिक सहज बनेको हलवाई बताउँछन् ।
हातमा सीप भएपछि आफ्नै उद्यम !
नेपालगञ्जकै वडा नं २१ को पुरैना गाउँमा सिलाई कटाईको काम गरेर जीवन निर्वाह गर्दै आएकी छिन् काली थारु । शारिरीक रुपमा शारीरीक रुपमा अशक्त थारुले आफै स्वालम्बी बन्न चाहेर सिलाई कटाईको काम गर्न थालेकी हुन् ।
यत्तिकै घरमा बसेर जीवन चलाउन गाह्रो भएकाले आफ्नै उद्यम शुरु गरेको उनी बताउँछिन् । श्रीमानसंगै बसेर उनले सिलाई कटाईको काम गर्छिन् । उनका श्रीमान पनि शारीरीक रुपमा अशक्त छन् । उनी जस्तै उनको श्रीमानको पनि खुट्टा चल्दैन ।
श्रीमान श्रीमती मिलेर पुरैनामा टेलरिङ्गको कामबाट घर खर्चको जोहो गर्दै आएका छन् । थारुले उद्यम गर्न चाहेपछि एक संस्थाले सहयोग गरेपछि उनले आफै सिलाईको काम गर्न थालेकी हुन । शारीरीक अशक्त भएपनि कसैमाथि निर्भर हुनु परेको छैन ।
आफ्नो कामले मोहित पार्ने मोहित !
हसिलो मुहारका मोहित सोनी नेपालगञ्ज वडा नं २१ को पुरैनामा बस्छन् । उनलाई कसैले केही प्रश्न गर्दा त्यसको उत्तर हाँसेर नै दिन्छन् । उनले बोलेर भन्दा पनि इशारले उत्तर दिने गरेका छन् ।
बिग्रिएको साईकल एकैछिनमा बनाउने मोहित आफ्नो कामले ग्राहकलाई मोहित पर्ने पार्ने गरेका छन् । न उनी बोल्न सक्छन् न त सुन्न नै तर ग्राहकसंगै इशारामा गरिएको कुराकानी सजिलै बुझ्छन् ।
करिब २० वर्षको आसपास देखिने मोहितले आफ्नो साईकल मर्मत पसल खोलेका छन् । उनलाई शुरुमा बुझ्न पनि गाह्रो हुन्थ्यो । तर उनको पिडालाई नेपालगञ्जको एक सहकारीमार्फत कम गरिएको छ ।
अहिले उनले सानो उद्यमबाट नै खुशी भएको बताउँछन् । उनलाई एक संस्थाले आर्थिक सहयोग गरेपनि सीप सिकेर उद्यम शुरु गरेका हुन । उनले इशारामै भने अब दुई वर्षमा पसललाई ठुलो बनाउछु र बिहेपनि गर्छु ।
किराना पसलले नन्दनीलाई दियो खुशी !
नेपालगञ्जकी नन्दनी केवटले सानो घुम्टीमा किराना पसल संचालन गरेकी छन् । नेपालगञ्ज महेन्द्र पार्क नजिकै उनले संचालन गरेको पसलबाट हुने आम्दानीको सानो रकम बैंकमा जम्मा गर्ने गरेकी छन् ।
पैसा जम्मा गर्न सकिएन भने भोलि यही पसललाई ठुलो बनाउन सकिंदै भनेर बैंकमा जम्मा गर्न थालेकी हुन । लघु उद्यम तालिम लिएपछि किराना पसल संचालनमा उनले जोड दिएकी हुन् ।
सानो पसल छ, दुई चार रुपैया भएको आम्दनीबाट जम्मा गरेको बताउँछिन् । पसल संचालनका लागि शुरुमा संस्थाले सहयोग गरेको थियो । संस्थाले गरेको सहयोगका कारण नै अहिले पसल संचालन गर्न सकेकोमा नन्दनी खुशी छिन् ।
,,,,,,,,,,,,,,,,
यी केही प्रतिनिधिमुलक पात्र मात्र हुन । नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा आइतबार गरिएको सरोकारवालाको संयुक्त अनुगमनबाट यो कुरा पाइएको हो । यस्ता थुप्रै युवाहरु छन् जो सानो सहयोगले अघि बढ्न चाहिरहेका छन् र बढि पनि रहेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं २ का वडा अध्यक्ष तरुण बज्राचार्य, वडा नं २२ का वडा अध्यक्ष गफ्फार अन्सारी, स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, जनस्वास्थ्य निरिक्षक जागेश्वर बस्नेत, शिक्षा शाखा अधिकृत भिम बहादुर बुढा, नगरस्तरीय नागरिक अपांङ्गता संजालका अध्यक्ष गोकर्ण आचार्य, गुरुकुल सहकारीका प्रबन्धक टिकाराम थारु, मंचका अध्यक्ष श्याम थापा मगर लगायतको संयुक्त अनुगमनले सानो उद्यमबाट पनि जीविकोपार्जनमा ठुलो सहयोग पुगेको छ ।
आफुले नै केही गर्न र समस्यामा परेका किशोर किशोरी तथा युवालाई नेपालगञ्जको सामाजिक बिकास मंच (एस डि एफ) बाँकेले सहयोग गर्दै आएको छ । मंचले लघु उद्यम तालिम, छात्रबृति सहयोग, सिप बिकास तालिम र किशार किशोरीमैत्री प्रजनन स्वास्थ्य सेवाका लागि भौतिक सामाग्री सहयोग, बितरण जस्ता काम गर्दै आएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा मंचले पावर फोर ए वाई परियोनामार्फत यस्तो कार्य गर्दै आएको परियोजना संयोजक राम श्रेष्ठले जानकारी दिनुभयो ।





