
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं-६ स्थित जयेन्दु बाल सुधार गृह निर्माणमा जग्गादान गर्नु हुने जैकेश सिंहका पीता माताको शालिकको आज अनावरण गरिएको छ ।
सिंहले पीता स्व.तप्त बहादुर सिंह र माता हेमरानी सिंहको स्वामित्वमा रहेको ४ विघाः दुई कठ्ठा जग्गा बालगृह निर्माणका लागि २०६७ मा सरकारलाई दान गर्नु भएको थियो ।
सम्मान स्वरुप नेपाल सरकारले सुधार गृह परिसरमा दानवीर सिंह दम्पतीको अर्धकदको शालिक निर्माण गरेको थियो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले आज एक समारोहबीच स्व सिंह दम्पतीको शालिकको अनावरण गर्नु भएको हो ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रेग्मीले सिंह परिवारको जग्गादानले बालगृह निर्माण गर्न अंह योगदान मिलेको भन्दै परिवारको र सरकारको परिकल्पना साकार हुँदै गएको बताउनुभयो ।
भवन, नामाकरण, शालिक निर्माण लगायत मन्त्रालयसँगका सहमती पुरा गरिएको भन्दै उहाँले अब सुधार गृहको प्रभावकारी सञ्चालनमा ध्यान दिन आग्रह गर्नुभयो । मन्त्री रेग्मीले बालबालिकाको शिक्षा र सीप दक्षतालाई सँगसँगै बढाउने खालका कार्यक्रम ल्याइने पनि विश्वास दिलाउनुभयो ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत बिभाग महानिर्देशक कृष्ण प्रसाद पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा विभाग निर्देशक निरा अधिकारी, यूसेफ नेपालका निर्देशक केशव सुवाल, दानवीर जैकेश सिंह, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री लगायतले सुधार गृहको व्यवस्थापन र बालकहरुको भविष्य निर्माण बारे बोल्नु भएको थियो ।
२ सय २९ जना बालक आश्रीत सुधार गृहको मन्त्री लगायतको टोलीले अवलोकन समेत गरेको थियो ।





