
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका-१२ स्थित टरिगाउँ विमानस्थलमा अब साताको पाँच दिन उडान हुने भएको छ ।
यसअघि सातामा तीन दिनमात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान हुँदै आएको थियो ।
पछिल्लो समय आइतबार र मङ्गलबार पनि उडान भर्ने गरेको उहाँले बताउनुभयो । हवाई इन्धन डिपोबाट इन्धन ‘रिफ्युल’ गर्न थालेपछि उडान पनि थप गरिएको उहाँले जानकारी दिनुभयो ।
‘यसअघि इन्धन डिपोबाट इन्धन हाल्न सुरु भएको थिएन, अब यहीबाट इन्धन हाल्न थालिएको छ’, उहाँले भन्नुभयो, ‘त्यसैले अहिले हप्तामा पाँच दिन उडान थप गरिएको छ ।’ यात्रुको चाप बढेमा प्रत्येक दिन हवाई उडान भर्ने गरी तयारी गरेको उहाँको भनाइ छ ।
साथै निजी हवाई सेवासँग पनि समन्वय गर्ने गरी तयारी रहेको उहाँले बताउनुभयो । ‘नियमित भएमा हामीले निजी क्षेत्रका जहाज ल्याउने गरिरहेका छौं’, उहाँले भन्नुभयो, ‘त्यसमा यात्रुको माग कस्तो आउँछ, त्यसमा भर पर्छ ।’
केही दिनअघिदेखि विमानस्थलमा निर्माण भएको इन्धन डिपोबाट इन्धन भर्न थालिएको हो । अहिले नेपाल वायुसेवा निगमको १९ सिटे ट्वीनअटर जहाजले सेवा दिइरहेको छ ।
कुनै समय दैनिक दुईवटासम्म उडान भर्ने गरिएको भएपनि पछिल्लो समय हवाई सेवा घटेर तीन दिनमात्रै भएको थियो । यसले गर्दा यस क्षेत्रबाट हवाई सेवाका लागि भैरहवा र नेपालगञ्ज जानुपर्ने बाध्यता थियो । अब यसलाई अन्त्य गर्न थप दुई दिन हवाई सेवा थपिएको छ । यो सँगै अब पाँच दिन हवाई उडान भइरहेको छ ।
धावनमार्ग विस्तारको पहल
विमानस्थलको धावनमार्ग विस्तारका लागि प्रक्रिया अगाडि बढेको छ । अहिलेको धावनमार्ग सात सय ५० मिटर लम्बाइ रहेको भन्दै यसलाई बढाउनका लागि इञ्जीनियरको टोली आएको उपप्रमुख चौधरीले बताउनुभयो । ‘इञ्जीनियर आएर डिपिआरका लागि सबै हेरेर गइसकेको छ’, उहाँले भन्नुभयो ।
विमानस्थल विस्तारका लागि पहल गर्न तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख चौधरीको नेतृत्वमा समिति गठन गरेको छ । सोही समितिले अहिले आफ्ना गतिविधि अगाडि बढाएको छ । रासस





