आफ्ना समस्या सम्बोधन गरिदिन स्वास्थ्यकर्मीको आग्रह

नेपालगन्ज । स्वास्थ्यकर्मीको न्यायोचित विकास, हकहित र अधिकार दिलाउनको लागि नेपाली कांग्रेसले केन्द्रमा छिटै स्वास्थ्य विभाग गठन गर्ने तयारी गरिरहेको नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय महासचिव दिपक राज भट्टले बताउनुभएको छ ।

नेपाली कांग्रेस निकट नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति बाँकेले शनिबार नेपालगन्जमा गरेको अन्तरक्रियामा बोल्दै महासचिव भट्टले सो कुरा बताउनुभएको हो ।

नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपुर्ण योगदान गरिरहेका स्वास्थ्यकर्मीको न्यायोचित सम्मान, संरक्षणको लागि नेपाल स्वास्थ्यकर्मी संघले सधै नेतृत्वदायी भुमिका निर्वाह गर्ने महासचिव भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीले जिल्ला कार्यसमिति देखि लिएर प्रदेश र केन्द्रमा स्वास्थ्य विभाग गठन गर्ने तयारी गरेको छ । स्वास्थ्य क्षेत्रमा काम गरेका कर्मचारी नै त्यो ठाउँमा गएर काम गर्ने हो । तपाई हामीहरु त्यसको हकदार छौं । त्यसमा स्वास्थ्य क्षेत्रमा योगदान गरेकाहरुले नै गएर काम गर्ने हो ।’

देश विकासमा महत्वपुर्ण योगदान गरिरहेका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण निर्माणको लागि नीतिगत रुपमा काम गर्ने प्रयास भैरहेको महासचिव भट्टले बताउनुभएको थियो ।

अन्तरक्रियाका क्रममा बाँकेमा कार्यरत स्वास्थ्यकर्मीले कार्यक्षेत्रमा आफुहरुले भोगिरहेका समस्याका बारेमा अवगत गराउँदै त्यसको सम्बोधन गरिदिन आग्रह गरेका थिए ।

स्थानीय तहमा विधि, पद्धति र कानुनलाई समेत वेवास्ता गर्दै कतिपय निर्णय हुँदा स्वास्थ्य क्षेत्रका कर्मचारीलाई सहज रुपमा काम गर्न समेत अप्ठयारो परेको सहभागिहरुले गुनासो गरेका थिए ।

छलफलका क्रममा स्थानीय तहमा योग्यता र क्षमता पुगेका महिलालाई शाखाको जिम्मेवारी दिने सवालमा विभिन्न किसिमका अप्ठयारा र राजनितिकरणका कारण निरुत्साही गर्ने गरिएको सहभागिहरुले बताए ।

कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघ केन्द्रीय सदस्य अन्जु न्यौपानेले स्वास्थ्य क्षेत्रमा काम गरिरहेका कर्मचारीहरुले थुप्रै समस्याहरुको सामना गरिरहेको बताउँदै त्यसको समाधानका लागि केन्द्रिय स्तरबाट सम्बोधन गर्नका लागि आफुहरुले पहल गर्ने बताउनुभयो ।

नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष टेक बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति विरजंग शाह, सह सचिव तेज वली, जागेश्वरी बस्नेत, नरेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Previous articleसकारात्मक सोच र तनाव व्यवस्थापन
Next articleटरिगाउँ विमानस्थलमा सातामा ५ दिन उडान हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here