
काेहलपुर । अपांगता भएका व्यक्तिहरुले विपतबाट हुने क्षति सकेसम्म व्यहोर्न नपरोस् भन्नका लागि स्थानीय सरकारले पूर्वयोजना बनाउन जरुरी रहेको देखिएको छ ।
सि.वि.एम ग्लोबलको आर्थिक सहयोगमा अपांग सशक्तिकरण एव्म संचार केन्द्र डेक नेपालले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समिति, विपदसँग सम्वन्धित व्यक्तिहरुलाई आज कोहलपुरमा भेला गराएर अपांगता भएका व्यक्तिहरु विपतमा कसरी जोखिममा पर्छन भन्नेबारे जानकारी गराएको हो ।
आगलागी, भुकम्प, हिमपहिरो, बाढी र डुवान तथा महामारी जस्ता विपदबाट अपांगता भएका व्यक्तिहरुमा हुन सक्ने जोखिम र त्यसको न्यूनिकरणका लागि स्थानीय सरकारले योजना बनाउन जरुरी रहेको डेकका कार्यक्रम संयोजन जीवन गिरीले बताउनुभयाे ।
स्थानीय सरकारले विपदबाट हुने क्षती न्यूनिकरणका लागि सकेसम्म अपांगता भएकै व्यक्तिहरुलाई सहभागी बनाएर योजना बनाउनु पर्ने उहाँको भनाइ थियो ।
नेपाल राष्ट्रिय अपांग महासंघका निवर्तमान महासचिव राजु बस्नेत र निर्मल भण्डारीले सहजिकरण गरेको अपांगता समावेशी विपद जोखिम तथा न्यूनिकरण सम्वन्धि उक्त तालिममा भएका नीतिगत कुराहरुलाई समेत सबैले व्यवहारिकरुपमा कार्यान्वयनमा लैजानुपर्ने निवर्तमान महासचिव बस्नेतले बताउनुभयाे ।
अपांगता भएका व्यक्तिहरुले विपतमा कसरी जोखिममा पर्छन भन्ने कुरालाई चित्रित गरेर दिइएको तालिममा सहभागी जनप्रतिनिधिहरुले विपद जोखिम तथा न्यूनिकरणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।





