
नेपालगन्ज । बाल संरक्षण तथा सामाजिक ब्यवहार परिवर्तन कार्यक्रमले वास्तविक जोखिममा रहेका बालवालिका र महिलाहरुका लागि उत्कृष्ट कार्य गरेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा कर्णाली र सुदुरपश्चिम प्रदेशमा सञ्चालित उक्त परियोजनाको बार्षिक समिक्षा गोष्ठीमा सहभागि महिला तथा बालवालिका शाखा प्रमुखहरुले यस्तो बताएका हुन् ।
बाल संरक्षण कार्यक्रम सञ्चालनपछि पालिकाभित्र जोखिममा रहेका बालवालिका र हिंसा प्रभावित महिलाहरुको पहिचान गर्ने, स्याहार योजना तयार गर्ने, सहयोग गर्ने, स्थानीय सरकारसँग उनीहरुको पहुँच स्थापित गर्न समन्वयको कार्य उत्कृष्ट र प्रभावकारी रहेको उनीहरुले बताए ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका महिला विकास अधिकृत सुनिता केसीले समुदाय तहमा बासले गरेको काम निकै प्रभावकारी रहेको बताउनुभयो । उहाँले प्रदेश तहबाट गर्नुपर्ने सहकार्यका लागि सदैब तयार रहेको भन्दै कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताउनुभयो ।
यसैगरी खत्याड गाउँपालिकाका अध्यक्ष अज बहादुर शाहीले कार्यक्रमलाई थप प्रभावकारी बनाउन पालिकाले गर्नुपर्ने कुरामा सधै अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो क्रममा पालिकाका महिला तथा बालवालिका शाखा प्रमुखहरुले बासको समन्वय पक्ष निकै बलियो रहेकाले काम गर्न सहज भएको बताउनुभएको थियो ।
छलफलको क्रममा उठेका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिदै युनिसेफ नेपालका कुंगा सन्दुप लामाले समुदाय तहमा बासले गरेको कामको पालिकाहरुले अपनत्व लिएको जनाउदै समुदायमा गरेको उत्कृष्ट कार्यको प्रशंसा गर्नुभयो । युनिसेफले लिएको उद्धेश्य परिपूर्तिका लागि प्रदेश सरकार, स्थानीय सरकार र बासले गरेको मेहेनत सराहनिय रहेको उहाँको भनाई थियो ।
बर्दियाको ठाकुरद्धारामा गरिएको समिक्षामा बाल संरक्षण तथा सामाजिक ब्यवहार परिवर्तन कार्यक्रमको उद्धेश्य र योजना गरिएका कार्यक्रमहरुको बारेमा युनिसेफ नेपालकै लामाले गर्नुभएको थियो भने कार्यक्रम अन्तर्गत २०२१ अक्टुबरदेखि २०२२ सेप्टेम्बरसम्म बार्षिक रुपमा हासिल गरेको प्रगति, उपलब्धी, चुनौती, सिकाईको प्रस्तुतीकरण कार्यक्रम संयोजक हेमराज भट्टले गर्नुभएको थियो । सो पश्चात समुहगत छलफलमा सहभागिहरुले भईरहेको सबै कार्यहरु उत्कृष्ट रहेकोले त्यसको निरन्तरता जरुरी रहेको निष्कर्ष निकालेका थिए ।
बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको समिक्षा गोष्ठीमा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि बासका कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाश पार्नुभएको थियो । बासका निर्वतमान अध्यक्ष रमेश सिटौलाले धन्यबाद ज्ञापन गरेको गोष्ठीको समापन बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गर्नुभएको थियो ।
गोष्ठीमा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका १५ वटा पालिकाका महिला तथा बालवालिका शाखा प्रमुखहरु, बासका पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।





