‘आहा ! रारा पोखरा’ गोल्डकप पुष १४ देखि, बिजेताले १२ लाख पाउने

पोखरा । मोफसलकै चर्चित ‘आहा रारा पोखरा’ गोल्डकपको २२ औं संस्करणमा खेल्ने १० टिमको टुंगो लागेको छ । प्रतियोगितामा ३ विभागीय, एउटा विदेशी क्लबसहित १० टिम सहभागी हुने आयोजक सहारा क्लबले जानकारी दिएको छ ।

प्रतियोगितामा एपीएफ क्लब, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बीवाईएससी, मछिन्द्र, नेपाल पुलिस क्लब, संकटा, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिने छन् ।

प्रतियोगिता पुस १४ गतेबाट २३ गतेसम्म पोखरा रंगशालास्थित फुटबल स्टेडियममा हुनेछ । सहारा क्लबले पहिले पुस १२ गतेबाट सुरु गर्ने समय तालिका सार्वजनिक गरे पनि १३ गते मैत्रीपूर्ण खेल भएका कारण २ दिनपछि सरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

१३ गते स्पेनको बी डिभिजनस्तरीय क्लब काथेरेन्यो र गण्डकी ११ बीच पोखरा रंगशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ ।आयोजक सहाराले यसै संस्करणदेखि प्रतियोगिताको नामसमेत परिवर्तन गरेको छ ।

लामो समय आहारारा गोल्डकपका नामबाट भएको प्रतियोगितालाई यसै संस्करणदेखि ‘आहा रारा पोखरा गोल्डकप’मा परिवर्तन गरेको हो । आहा रारा पोखरा गोल्डकपको पहिलो संस्करण ०५८ सालमा क्याराभान कपको नामबाट भएको थियो ।

आहा राराको २१ औं संस्करण विभागीय टोली एपीएफले जितेको थियो भने मनाङ मस्र्यांदी क्लब उपविजेता भएको थियो ।

पुरस्कार राशी बढ्यो
नाम परिवर्तनसँगै आयोजक सहारा क्लबले आहा रारा पोखरा गोल्डकपले पुरस्कार राशी पनि बढाएको छ । क्लबका अध्यक्ष सुरज गुरुङका अनुसार आहारारा पोखरा गोल्डकप विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

आयोजक सहाराले अघिल्ला संस्करणभन्दा प्रथम पुरस्कारमा २ लाख र दोस्रोमा एक लाख रुपैयाँ वृद्धि गरेको हो । बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । एकेडेमीमा हाल तेस्रो ब्याचमा १३ जना बालक आश्रित छन् ।

Previous articleबाल संरक्षण तथा सामाजिक ब्यवहार परिवर्तन कार्यक्रमको समिक्षा
Next articleजग खन्दा तोपका गोला भेटियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here