
खजुरा । बाँकेको खजुरा गाउँपालिकाका केही सामुदायिक बिद्यालयको मंगलबार संयुक्त अनुगन गरिएको छ । खजुरा गाउँपालिका वडा नं ४ मा रहेका अम्बेमाता आधारभूत र जनकल्याण माध्यमिक बिद्यालयको सरोकारवालाद्धारा मंगलबार संयुक्त अनुगमन भएको हो ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा पालिकाको समन्वय सहकार्यमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेले संचालन गरेको सिकाई परियोजना अन्तर्गत कार्यक्रम संचालन भएका बिद्यालयको गाउँपालिका अध्यक्ष लगायतका सरोकारवालाले अनुगमन गर्नुभएको छ ।
अनुगमनबाट बिद्यालयको चौतर्फी कुराहरु उत्कृष्ट रहेको पाइएको गाउँपालिका अध्यक्ष डम्बर बिकले बताउनुभयो । बिद्यालयहरुलाई प्रदान भएको सहयोग अनुसार बिद्यालयहरु उत्कृष्ट देखिएको उहाँले बताउनुभयो ।
‘हामी त अनुगमन गरेर केही कमि कमजोरी भए सुझाव दिउँला भन्ने थियो,’ अध्यक्ष बिकले भन्नुभयो, ‘अनुगमनबाट त उल्टै धेरै कुराहरु सिक्न पो पाइयो । यति राम्रोसंग बिद्यालय चलेको छ मन नै प्रशन्न भएको महसुस भएको छ ।’
बिद्यालयको स्तर र शिक्षाको गुणस्तर बृद्धि गर्न प्लानको सहयोगमा स्याक नेपालले गरेको कार्यक्रम उपलब्धीमुलक रहेको भन्दै प्लान र स्याकलाई धन्यवाद समेत अध्यक्ष बिकले दिनुभयो । साथै उहाँले आगामी दिनमा पनि काम गर्न अनुरोध गर्दै पालिकाले समन्वय सहकार्य गर्न तयार रहेको प्रतिबद्धता पनि जनाउनुभयो ।
अनुगमनकै क्रममा अम्बेमाता आधारभूतकी प्रधानाध्यापक अम्बिका थापा क्षेत्रीले स्याकमार्फत बिद्यालय संचालनका लागि धेरै सहयोग भएको बताउनुभयो । ‘आज नमूना बिद्यालय निर्माण भएको छ, यसमा स्याक नेपालको महत्वपूर्ण भूमिका रह्यो,’ थापा क्षेत्रीले भन्नुभयो, ‘आगामी दिनमा समेत सहयोग भएको भए अझ उत्कृष्ट बनाउन सक्छौं ।’ उहाँले सोही क्रममा खेलकुदका लागि अभाव देखिएको खेल मैदानको व्यवस्थापन गरिदिन गाउँपालिका अध्यक्षलाई अनुरोध पनि गर्नुभयो ।
अनुगमनमा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल, स्याक नेपालका कार्यसमिति सदस्य कृष्ण गिरी, सिकाई परियोेजना संयोजक लक्ष्मी प्रसाद शर्मा, सुपरभाईजर रज्जब अलि बागवान लगायतको सहभागिता रहेको थियो ।
स्याक नेपालले सिकाई परियोजनामार्फत यहाँ तीन वर्ष गतिबिधिहरु संचालन गरेको थियो । सो क्रममा शिक्षकहरुको क्षमता अभिबृद्धि, शैक्षिक तथा आई सिटी सामाग्री सहयोग, शैक्षिक सामाग्रीको निर्माण एव प्रयोग जस्ता गतिबिधिहरु संचालन गरेको थियो ।







