
खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ को ए गाउँस्थित गौरीनगरमा खजुरा गाउँपालिकाकाभित्र रहेका अभिभावकबिहिन बालबालिकाको लागि आवासीय भवनको शिलान्यास गरिएको छ ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल र प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले उक्त आवासीय भवन शिलान्यास गर्नुभयो ।
सो क्रममा निर्धारित समयसीमाभित्र भवन निर्माण सम्पन्न गर्न ठेकेदारलाइ अध्यक्ष विकले निर्देशन दिनुभयो । गाउँपालिकाभित्रका सबै योजनाहरु समयसीमा अघि नै काम सक्याउने ठेकेदारलाई सम्मान तथा पुरस्कृत गर्ने र समयमा काम नगर्ने ठेकेदारलाइ समय नथप्ने अध्यक्ष विकले बताउनुभयो ।
खजुरा गाउँपालिकाले अभिभावकविहीन बालबालिकाको संरक्षण लागि ५० लाख बजेट छुट्याएको छ । पालिकाभित्र रहेका बाबु, आमा नभएका बालबालिकालाई पालिकाले नै संरक्षण गर्ने र पढाउने नीति अघि सारेको छ ।
पालिकामा ५० जनाजति त्यस्ता बालबालिका हुन सक्ने आँकलन गरिएकोमध्ये १८ जना सम्पर्कमा आइसकेका छन् ।





