
नेपालगञ्ज । नेपालगञ्जको खलवा पुरैनी स्वास्थ्य संस्थाबाट प्रदान हुने किशोरकिशारी मैत्री स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । पछिल्लो समय स्वास्थ्य संस्थाले छुट्टै कोठाको व्यवस्थापन गरेर शुरु गरेको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा लिन आउनेहरुको संख्या बढेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं २२ को खलवा पुरैनीमा रहेको स्वास्थ्य संस्थाले स्थानीय स्वास्थ्य अवस्थालाई मुल्याँकन गरेर छ्ट्टै कोठाको व्यवस्थापन गरेर यस खालको सेवा दिन शुरु गरेको स्वास्थ्य संस्थाका प्रमुख सरोज मिश्राले जानकारी दिनुभयो । यसका लागि एस डिएफले सहयोग गरेको उहाँले बताउनुभयो ।
‘किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा कार्यक्रम शुरु गरेपछि किशोरकिशोरी आउन थालेका छन्,’ प्रमुख मिश्राले भन्नुभयो, अझै यसको प्रचार प्रचार गर्न आवश्यक छ । थप सामाग्रीको व्यवस्थापन गर्न सकिएको अझ राम्रो हुने थियो ।’
स्वास्थ्य संस्थाको तथ्याँक अनुसार यसै आर्थिक वर्षको साउनदेखि १७५ जना किशोर किशोरीले स्वास्थ्य सेवा लिएका छन् । जसमा ७ जना विवाहित, ८३ जना अविवाहित किशोरी र ३ जना विवाहित र ८२ जना विवाहित किशोरले स्वास्थ्य सेवा लिएको देखिन्छ ।
किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाका फोकल पसर्न पवन बर्माले प्रजनन स्वास्थ्यका बारेमा जानकारी दिने गरिएको बताउनुभयो । किशोरकिशोरी उमेर समूहमा देखिने परिवर्तनले कतिपय किशोरकिशोरी आत्तिने, कुनै शारीरीक समस्या हो भनेर अत्तिने समस्यालाई यहाँ समाधान गर्ने गरिएको उहाँले बताउनुभयो ।
१० देखि १९ वर्षसम्मका किशोरकिशोरीको यौन तथा प्रजनन सम्बन्धि भएका जिज्ञासा अनुसारको सुझाव तथा जानकारी प्रदान, आईरन चक्कीको महत्वको साथै किशोर किशोरीलाई आवश्यक प्रजनबारे जानकारी प्रदान गर्ने गरिन्छ । सेवा लिन पुेगकी नाम परिवर्तित किशोरी `ए´ले छुट्टै काेठामा गाेप्य रूपमा आफुले जिज्ञासा राख्न पाएकाेमा खुशी व्यक्त गर्नुभयो । उहाँले आफ्नाे जिज्ञासा सहज र सरल तरिकाले पूर्ण भएकाे बताउनुभयाे ।
स्वास्थ्य संस्थामा सेवा लिन पुग्नेहरुको संख्याले नै यो सेवा प्रभावकारी रहेको देखिएको नेपालगञ्ज उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनुभयो । यो सेवालाई अन्य स्वास्थ्य संस्थामा समेत संचालन गर्न सके राम्रो हुने उहाँले बताउनुभयो । किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा संचालनका लागि सामाजिक बिकास मंच (एस डिएफ) बाँकेले आवश्यक शैक्षिक तथा भौतिक सामाग्रीको व्यवस्थापन गरेपछि सहज भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पावर फोर ए वाई परियोजनामार्फत स्वास्थ्य संस्थामा यो सेवाका लागि लागि आवश्यक सामाग्री सहयोग गरिएको मंचका परियोजना संयाेजक राम श्रेष्ठले जानकारी दिनुभयो ।





