बाँकेमा आत्महत्याको अवस्था डरलाग्दो, दुई महिनामै ११ ले फाले ज्यान

बाँके । जिल्लामा आत्महत्याको अवस्था डरलाग्दो देखिएको छ । यस आर्थिक वर्षको पहिलो दुई महिनामा बाँकेमा आत्महत्या गर्नेहरुको तथ्याँक हेर्दा अवस्था डरलाग्दो रहेको पाइएको हो । जिल्लामा यस वर्षको शुरुवाती दुई महिनाको अवधिमा मात्रै ११ जनाले आत्महत्या गरेका छन् ।

पारिवारिक कारण, तनाव, गरिबीका कारण आत्महत्या गरेको पाइएको छ । उदासिनता, रक्सी र अन्य लागु औषधको दुरुपयोग, दीर्घरोगी, मानसिक स्वास्थ्य समस्या, द्वन्द्व, घरेलु हिंसा, आफन्तको मृत्यु, गरिवी, बेरोजगारी, मायामा धोका, पढाईमा असफल जस्ता कारणले व्यक्ति आत्महत्याको तहमा पुग्ने गरेको देखिन्छ ।

त्यस्तै अहिले लकडाउन (बन्दाबन्दी) को समयमा वैदेशिक रोजगार, प्रविधि, समाजका अनेक समस्या झेल्न नसकेर आत्महत्या बढिरहेको निष्कर्षमा पुगेका बेला बन्द, आर्थिक संकट जस्ता कुरा मानिसहरुले आत्महत्याको बाटो रोज्ने कारणहरु हुन ।

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याँक अनुसार यस आर्थिक वर्षको दुई महिनामध्ये साउनमा ६ जना र भदौमा ५ जनाले आत्महत्या गरेका छन् । यो अवधिमा ६ जना पुरुष र ५ जना महिलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आत्महत्या गर्नेमा एक १६ वर्षीय बालक समेत रहेको बाँकेका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरिक्षक सुवास खड्काले जानकारी दिनुभयो । त्यस्तै लागु औषधको लतका कारणले घरको आर्थिक अवस्थाले उनको इच्छा पुर्ति नभएको अवस्थमा १८ वर्षीय केटाले आत्महत्या गरेको पाइएको छ ।

बाँके प्रहरीका अनुसार जिल्लाको नेपालगञ्ज, कोहलपुर, राप्तीसोनारी लगायतका क्षेत्रमा यो अवधिमा आत्महत्याका घट्ना देखिएको छ ।

यस्तै आज बिहीबार, सेप्टेम्बर १० अर्थात विश्व आत्महत्या रोकथाम दिवस मनाईरहेका बेला विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो आँकडा विश्वमा हेर्दा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्छन् ।

यस हिसाबले एक वर्षमा ७ लाख ८८ हजार ४०० अर्थात झण्डै ८ लाख मानिसले आत्महत्या गर्छन् । नेपालमा पनि आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार वार्षिक झण्डै ६ हजार मानिसले आत्महत्या गर्ने गरेका छन् ।

युवा तथा किशोर–किशोरी, सम्बन्ध–विच्छेद गरेर एक्लो भएका, तनावयुक्त वैवाहिक जीवन भएका, घरेलु तथा लैङ्गिक हिंसाबाट पीडित महिला, यौन शोषण र बलात्कारमा परेका, प्रेममा असफल भएका र आर्थिक नोक्सानीमा परेका व्यक्तिहरू आत्महत्याको बढी जोखिममा हुन्छन् ।

आत्महत्या मानसिक रोगको उपज रहेको र आत्महत्या गर्नेमध्ये ९० प्रतिशतमा मानसिक रोगकै मुख्य कारण हुने गरेको मनोविशेषज्ञहरू बताउँछन् ।

Previous articleभारतमा प्रत्येक दिन लाखमा भेटिन थाल्यो कोरोना संक्रमण
Next articleभेरी बन्यो ७२ बेडको कोरोना बिशेष अस्पताल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here