
बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना बिशेष अस्पताल संचालनमा आएको छ । बिहीबार प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बराल, सांसद आइपी खरेल र बिजय यादवको उपस्थितिमा कोरोना बिशेष अस्पतालको उद्घाटन गरिएको छ ।
भेरी अस्पतालमा कोरोना बिशेष अस्पताल संचालन गर्नका लागि सबैतिरबाट सहयोगको अपिल गरिएको थियो । सोही अपिलपछि भएको सहयोगबाट ८ बेड आइसियु सुबिधा सहित ७२ बेडको बिशेष अस्पताल संचालनमा आएको हो ।
अहिलेलाई ७२ बेडको बनाइएपनि सय बेडमा रुपान्तरण गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक एंव प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
बाँकेको खजुरास्थित शुशिल प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष अस्पतालमा बेड अभाव तथा दिगो व्यवस्थापनको समस्यापछि भेरी अस्पतालमा कोरोना बिशेष अस्पताल बनाउने तय गरिएको थियो ।
सोही निर्णय अनुसार प्रदेश सरकार र यहाँका बिभिन्न कर्मचारी, संघसस्था लगायतको सहयोगमा कोरोना बिशेष अस्पताल संचालनमा ल्याइएको छ । जिल्लामा खजुरास्थित अस्पताल, कृषि तालिम केन्द्र, लायन्स डेन्टल अस्पताल, कृृषि बिकास केन्द्र पिपरीलाई आइसोलेसन सेन्टर बनाइएको छ ।
बाँकेमा बिहीबारसम्मको तथ्याँक अनुसार कोरोना संक्रमितको संख्या १ हजार ३ सय ४५ पुगेको छ । जसमा ९ सय ५१ जना १४ दिन आइसोलेसनमा बितार घर फर्किएका छन् भने ८ जनाको मृत्यु भएको छ ।





