
गुलरिया । गेरुवा ग्रामीण जागरण संघ बर्दियाद्धारा संचालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजनाको सार्वजनिक परिक्षण सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल र कोइकाको सहयोगमा बर्दियाको गेरुवा गाँउपालिका वडा नं-६ को गणेश माबि, ठाकुरबाबा नगरपालिका वडा नं-६ को जनज्योती माबि, बारबर्दिया नगरपालिका वडा नं-२ युवक मावि र मधुवन नगरपालिका वडा नं-७ शुक्र माविमा संचालित कार्यक्रको शुक्रबार र शनिबार सार्वजनिक परिक्षण गरिएको हो ।
२०२२ जनवरीदेखि डिसेम्बरसम्म सम्पन्न कार्यक्रमबाट प्राप्त उपलब्धी, कार्यक्रमले पारेको सामाजिक प्रभाव, पारदर्शिता र जवाफदेहिताबारे समिक्षा गर्ने उद्धेश्यले गरिएको सार्वजनिक परिक्षणमा परियोजना संयोजक रामरुप कौशलले बिद्यालयमा सम्पन्न भएका कार्यक्रम, योजना, उपलब्धी र कार्यक्रमको आयब्यय प्रस्तुत गर्नुभएको थियो ।
सामाजिक परिक्षक मन भण्डारीले सहजिकरण गरेको कार्यक्रममा गणेश माबिका सहायक प्रधानाध्यापक लोकेन्द्र बहादुर चन्दले कार्यक्रले बिद्यालय, शिक्षक र बिद्यार्धीहरुलाई धेरै फाइदा पुगेको बताउनुभयो । परियोजनाबाट बिद्यालयमा बनेको आधुनिक तीन कोठे शौचालय, महिनावारी आराम कक्ष बनेको बताउदै संस्थाले ठुलो गुन लगाएको चन्दले बताउनुभयो ।
कार्यक्रममा बोल्दै गणेश माबिमा कक्षा १० मा अध्ययनरत बिद्यार्थी पानसरा शाहीले किशोरीहरुले महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड बिद्यालयमा जथाभावी फाल्नले बिद्यालयको वातावरण नै दुषित हुने गरेता अहिले प्याड जलाउने मेसिनले समस्या समाधान भएको बताउनुभयो ।
जनज्योती माबिमा कार्यक्रममा बोल्दै बिद्यालयका प्रअ बालकृष्ण आचार्यले परियोजना अन्तर्गत संचालन भएका बिभिन्न तालिमले बिद्यार्थी र शिक्षकहरुमा यौन तथा प्रजनन स्वास्थ्यप्रतिको बुझाईमा सकारात्मक परिवर्तन ल्याएको र खुलेर अध्ययन अध्यापन गर्ने वातावरण तयार भएको बताउनुभयो ।
‘कार्यक्रम लागु हुनुपुर्व किशोरीहरु महिनावारी भएपछि घर जानुपर्ने अवस्था थियो,’ आचार्यले भन्नुभयो, ‘महिनावारी आराम कक्ष निर्माण भएपछि घर जानुपर्ने समस्याको समाधान भएको छ, र किशोरीहरुको पढाइमा टेवा पुगेको छ ।’
कार्यक्रममा बोल्दै बारबर्दिया वडा नं-११ का वडाअध्यक्ष रामफेरन चौधरीले यस किसिमको परियोजनाले बिद्यालय तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउनुका साथै बिद्यालयमा बनाइएका संरचनाहरुको दिगोपनाका लागि स्थानीय सरकारको ध्यान समेत आकर्षण भएको बताउनुभयो ।
कार्यक्रमा वडा सदस्य, बिद्यालय ब्यवस्थापन समितिका सदस्य, शिक्षक, बिद्यालयका किशोरकिशोरीहरु, स्वास्थ्यकर्मी र बिद्यालय अभिभावक संघका सदस्यहरु लगायतले आफ्नो बिचार राखेका थिए भने यसको निरन्तरताको माग गरेका छन् ।





