राष्ट्रिय मेलमिलाप दिवसमा यसको सान्दर्भिकताबारे नेपालगञ्जमा चर्चा

नेपालगञ्ज । राष्ट्रिय मेलमिलाप दिवसमा यसको सान्दर्भिकताबारे नेपालगञ्जमा चर्चा गरिएको छ । नेपाली कांग्रेस बाँकेले आज ४७ औं राष्ट्रिय मिलमिलाप दिवसका अवसरमा पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको विचार गोष्ठीमा बक्ताहरुले नेपाली राजनीतिका मूर्धन्य व्यक्तित्व विपी कोइरालाले अंगिकार गरेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

राष्ट्रियता जोगाउन कोइरालाले ४६ बर्षअघि गरेको उक्त निर्णय साहसीपूर्ण रहेको बक्ताहरुले उल्लेख गर्नुभयो । अहिलेको सन्दर्भमा पार्टीभित्र आपसी मेलमिलाप बढाएर सुदृढ संगठन निर्माणमा जुट्नुपर्ने आवश्यकतामाथि बक्ताहरुले जोड दिनुभयो ।

कोइरालालाई दुरदर्शी नेताको रुपमा चित्रण गर्दै बक्ताहरुले कम्युनिष्टहरुको अस्थिर र छेपारे प्रबृत्तिका कारण उतिबेलै विपीले कम्युनिष्टहरुसंग सहकार्य गर्न नहुने नीति अख्तियार गरेको र अहिले आएर त्यो प्रमाणित भएको बताउनुभयो ।नेपाली कांग्रेस बाँकेका कार्यवहाक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले अहिलेको परिस्थितिमा पार्टीभित्र आन्तरिक मेलमिलाप जरुरी रहेको बताउनुभयो । राष्ट्रियसभा सदस्य एवम् कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्माले विपी विचार र दर्शन नेपाली राजनीतिका लागि सधैं अनुकरणीय रहने बताउनुभयो ।

विचार गोष्ठीमा पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य टेकनारायण भुषाल लगायतले मेलमिलाप नीतिको सान्दर्भिकताबारे बोल्नुभएको थियो । पार्टी उपसभापति कृष्णबहादुर कार्कीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् कांग्रेसका संस्थापक नेता वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा हरेक बर्ष पुष १६ गते मेलमिलाप दिवस मनाइन्छ ।

Previous articleमानब बेचबिखनको संख्यामा बृद्धि
Next articleएकता युवा क्लब पुरैनीको कार्यक्रममा ५१ जनाले गरे रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here