
काठमाण्डौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शीतलहरबाट कुनै पनि नागरिकले क्षति व्यहोर्न नपर्ने गरी पूर्व तयारी गर्न निर्देशन दिनुभएको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई निर्देशन दिँदै उहाँले शीतलहरबाट कोही पनि नागरिकले क्षति व्यहोर्न नपर्ने गरी आवश्यक पूर्व तयारी गर्न निर्देशन दिनुभएको सहसचिव भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।
यस्तै नागरिकहरूलाई सरकार अभिभावक हो भन्ने भावनाको सुनिश्चितता गराउने जिम्मेवारी भएको भन्दै उनीहरूको आवाज केन्द्रसम्म पुर्याउने र सुनुवाइ गर्न पनि निर्देशन दिनुभयो ।
नागरिकहरूको समस्या सुन्दा र समाधानको पहल गर्दा समभाव राख्न पनि गृहमन्त्री लामिछानेले बताउनुभयो । जुनसुकै माध्यमबाट दर्ता भएका उजुरीहरूको छानविनमा जोड दिन पनि उहाँले बताउनुभयो ।
त्यसैगरी उहाँले मिटरब्याजी र नागरिकताविरूद्धका उजुरी छानविनलाई पनि तीव्रता दिन निर्देशन दिएको सहसचिव भुसालले बताउनुभयो ।





