नेपालगञ्ज । बुटवलमा सम्पन्न ‘प्रदर्शनी आइडल २०७९’ को उपाधि रूपा रौतारले जित्नुभएको छ । आइडलमा प्रतिस्पर्धी ३३ जना सहभागिबाट छानिदै कपिलवस्तुको वाणगंगा नगरपालिका धनकौलीकी रूपाले ‘प्रदर्शनी आइडल २०७९’ को उपाधि जित्न सफल हुनुभएको हो ।
रूपन्देही उद्योग संघले गत पुस ७ गतेदेखि आयोजना गरेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा गायन विधाको प्रदर्शनी आइडलको अडिसन राउण्डमा ३३ जना सहभागिबाट छानिदै प्रदर्शनी आइडल बन्नुभएको रूपाले १ लाख ११ हजार १११ रूपैयाँ नगद पुरस्कारसहित अन्य पुरस्कारहरू समेत जित्नुभयो ।
प्रतिस्पर्धामा अञ्जली विश्वकर्मा दोस्रो हुनुभयो । उहाँले नगद ५५ हजार ५ सय ५५ रूपैयाँ र तेस्रो हुनुभएकी एन्जिला क्षेत्री खत्रीले नगद ३३ हजार ३ सय ३३ रूपैयाँ पुरस्कार हात पार्नुभयो ।
१७ वर्ष पहिले एउटा दुर्घटनामा परि दुबै हात गुमाउँदा ४ वर्षकी रूपा कपिलवस्तुको बालज्योति स्कुलमा पढ्दै हुनुहुन्थ्यो । २०६२ सालको भदौ महिनामा आमा ईन्द्रासँगै आफन्तको घर जानुभएकी उहाँ खेल्दाखेल्दै घरको कौशीमा विद्युतीय दुर्घटनामा पर्नुभएको थियो ।
तत्काल लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा सामान्य उपचारपछि रुपाको काठमाडौंको शिक्षण अस्पताल हुँदै कान्ति बाल अस्पतालमा उपचार भएको थियो । दुर्घटनामा परेको एक सातापछि भएको अप्रेसनमा रुपाले दुबै हात गुमाउनुपरेको थियो ।