पहिलो टी-२० क्रिकेटमा घरेलु टोली भारतको रोमाञ्चक जित

एजेन्सी । श्रीलंकाविरूद्धको पहिलो टी-२० क्रिकेटमा घरेलु टोली भारतले रोमाञ्चक जित निकालेको छ । शिवम माभीले डेब्यू खेलमै उच्च प्रदर्शन गरेपछि भारतले पहिलो टी-२० अन्तर्राष्ट्रियमा श्रीलंकामाथि २ रनको रोमान्चक जित हात पारेको हो ।

यो जितसँगै तीन खेलको टी-२० खेलमा भारतले १-० को अग्रता लिएको छ । जितको लागि १ सय ६३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६० रनमा समेटियो ।

श्रीलंकालाई अन्तिम ६ बलमा जितको लागि १३ रन चाहिएको थियो । तेस्रो बलमा चामिका करुणारत्नेले स्पिनर अक्षर पटेललाई छक्का हानेपछि बाँकी तीन बलमा मात्रै पाँच रन चाहिएको थियो । पटेलले चौथो बल डट, पाँचौं र छैटौं बलमा एक एक रन दिँदै दुई रन आउट गरेपछि रोमान्चक जित हात पार्‍यो ।

श्रीलंकाका कप्तान दासुन शनाका २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४७ रन बनाए । यस्तै ओपनर कुशल मेन्डिसले २५ बलमा ५ चौकासहित २८ रन बनाउँदा चामिका करुणारत्ने १६ बलमा २ छक्कासहित २३ रनमा अविजित रहे ।

भारतका लागि डेब्यू खेल खेलेका तीव्र गतिका युवा बलर शिवम मावीले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा २२ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । यस्तै उमरान मलिक र हर्षल पटेलले समान २-२ विकेट लिए ।

त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । उसका लागि दीपक हुडाले सर्वाधिक ४१ रन बनाए । २३ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै अक्षर पटेल ३१ रनमा अविजित रहे ।

ओपनर ईशान किशानले ३७ रन बनाउँदा कप्तान हार्दिक पान्ड्याले २९ रन जोडे । डेब्यू खेल खेलेका ओपनर शुभमन गिल र सूर्यकुमार यादव ७-७ रनमा आउट भए । सन्जु स्यामसनले ५ रन बनाए । श्रीलंकाका दिलशान मदुशनका, महेश थिक्सेना धनन्जय डि सिल्भा र वानिन्दु हसरंगाले समान एक-एक विकेट लिए ।

Previous articleबैजनाथ थारुको जीवनीमा बृत्तचित्र निर्माण गरिँदै
Next articleदुबै हात गुमाएकी रूपा प्रदर्शनी आइडलको उपाधि जित्न सफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here