नेपोलियन बोनापार्टको लिङ्ग प्रदर्शनीमा

युरोपको सङ्गठित शक्तिका विरुद्ध शानदार सैन्य उपलब्धि प्राप्त गरेका कारण नेपोलियन बोनापार्ट इतिहासमा अमर छन् । उनले युरोपमा कानुन र प्रशासनिक व्यवस्था सुधारमा ठूलो योगदान गरेका थिए ।

नेपोलियनका अन्तिम वर्षहरू सम्झनलायक नै बने, उनले तिरस्कार र बन्धक जीवन व्यतित गर्नुपर्‍यो तथा मृत्युमा समेत रहस्यको घेरा खिचियो । निर्वासनको अवस्थामै ५१ वर्षको उमेरमा नेपोलियनको निधन भएको थियो ।

सन् १८१५ मा वाटरलुको लडाइँमा पराजित भएपछि नेपोलियनले राज्यसत्ता त्याग गरी बेलायतीहरूका अगाडि आत्मसमर्पण गरेका थिए । नेपोलियनको हत्या गरी सम्भावित शहीद बनाउनुभन्दा त्यतिबेला विश्वको एक निकै एकान्त स्थलमा उनलाई बन्दी बनाएर राख्नु बेलायतीहरूले श्रेयष्कर ठाने । यसकारण नेपोलियनलाई आन्ध्र महासागरको दक्षिणमा रहेको सेन्ट हेलेना टापुमा बन्दी बनाएर राखियो ।

यो टापुको लम्बाइ करिब १६ किलोमिटर र चौडाइ आठ किलोमिटर छ । जब पूर्वसम्राटको नजर यस टापुमा परेको होला त्यहाँका चुच्चे चट्टानलाई देखेर उनलाई कहाली लागेको होला । पूर्वमित्र विलियम वालकोम्बीको घरमा सुरुमा दुई महिना आनन्दपूर्वक बिताएपछि नेपोलियनलाई नजिकैको एक जीर्ण घरमा सारिएको थियो ।

नेपोलियनका नोकरहरूले त्यस घरमा चिसो, रुघाखोकीको समस्या तथा खराब व्यवस्थाका बारेमा गुनासोसमेत गरेको बताइन्छ । त्यो टापुमा मुसासमेत धेरै थिए । युरोपमा त्यतिबेला पूर्वसम्राट नेपोलियनको त्यस जीवनलाई लिएर मजाकसमेत हुने गरेको थियो । त्यसमा आधारित अनेक खालका कार्टुन पनि बनाइए ।

त्यस टापुमा नेपोलियनका दिन खराब हुँदै गए । टापुका नयाँ बेलायती गभर्नर हड्सन लोले नेपोलियन निर्वासनबाट भाग्न नपाऊन् भनी उनको गतिविधिलाई धेरै सीमित बनाइदिए । त्यसअघि नेपोलियनले एल्बाबाट भाग्ने कोसिस गरेका थिए । अब त हड्सनले नेपोलियनको स्याहार सुसार गर्नेहरूको समेत निगरानी गर्न थाले । दिनमा कैयौँ पटक बेलायती अधिकारीहरूले नेपोलियनलाई देख्नुपर्ने नियम हड्सनले बनाए ।

अत्यन्त कडा निगरानीमा बन्दी जीवन बिताउनुपर्दा नेपोलियनको स्यास्थ्य बिग्रँदै गयो । पेट दुख्ने, कब्जियत, बान्ता र कमजोरीले उनी आहत हुन थाले । सेन्ट हेलेना ल्याइपुर्‍याइएको चार वर्षपछि सन् १८२१ मा नेपोलियनलाई आफ्नो अन्त्य आइसकेको महसुस भयो । सन् १८२१ मे ५ मा नेपोलियनले अन्तिम सास लिए ।

नेपोलियनको मृत्यु भएलगत्तै उनका चिकित्सक फ्रान्सेस्को एन्टोमार्चीले उनको पोस्टमार्टम गरे । त्यस क्रममा नेपोलियनको मुटु र आन्द्रा निकालेर एउटा सुरक्षित भाँडोमा राखियो । एन्टोमार्चीले नेपोलियनको लिङ्ग पनि काटेका थिए । उनले त्यसो किन गरे कसैलाई थाहा छैन ।

नेपोलियनको लिङ्ग सेन्ट हेलेनाबाट उनका पादरीले सुटुक्क लिएर गए । त्यसपछिका धेरै वर्षसम्म नेपोलियनको लिङ्ग विभिन्न समूह र व्यक्तिबीच किनबेच भइरह्यो । अन्ततः सन् १९२७ मा न्युयोर्कको सिटी म्युजियममा फ्रेन्च आर्ट विभागमा त्यसलाई प्रदर्शनीका लागि राखिएको थियो ।

तर, नेपोलियनको मृत्युको मूल कारण विवादको विषय बनिरह्यो । नेपोलियनको मृत्युको वास्तविक कारण पत्ता लाग्न सकेको छैन ।

एन्टोमार्चीले नेपोलियनको मृत्यु पेटको क्यान्सरले भएको भनेका छन् । सन् १९६१ मा स्विडेनका एक विज्ञले नेपोलियनको मृत्यु आर्सनिकका कारणले भएको दाबी गरेका थिए । बेलायतीहरूले नेपोलियनलाई आर्सनिक मन्द विषले विषाक्त गरेको उनको भनाइ थियो । एजेन्सीको सहयोगमा

Previous articleदुबै हात गुमाएकी रूपा प्रदर्शनी आइडलको उपाधि जित्न सफल
Next articleनेपालगन्ज उपमहानगरपालिकाद्वारा दाउरा बितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here