सुत्केरी पशु भत्ता कार्यक्रमले खजुराका किसान पशुपालनतर्फ आकर्षित

खजुरा । बाँकेको खजुरा गाउँपालिकाले चालू आर्थिक वर्षदेखि हालसम्ममा ४८६ सुत्केरी पशुलाई भत्ता वितरण गरेको छ । पोषण सुत्केरी खाद्यान्न सहयोग कार्यक्रम अन्तर्गत सुत्केरी गाई तथा भैँसीलाई भत्ता वितरण गरिएको हो ।

खजुरा गाउँपालिकाका ८ वटै वडामा सुत्केरी पशुलाई पोषण खाद्यान्न सहयोग उपलब्ध गराउन पशुधनीलाई रकम प्रदान गरिएको खजुरा पालिका पशु शाखाका प्रमुख कार्ण प्रसाद खत्रीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार याे आर्थिक वर्षमा पहिलाे चरणमा २७३र दोस्रो चरण मा २१३ लाई वितरण गरिएकाे थियो । यसरी उपलब्ध गराएको भत्ताबाट सम्बन्धित कृषकले ब्याएको पशुलाई पौष्टिक आहार र खाद्यान्न किनेर खुवाउनुपर्नेछ ।

हरेक पशुलाई सुत्केरी भत्ता र पोषण सुत्केरी खाद्यान्न सहयोगअन्तर्गत १५ सयका दरले वितरण गरिँदै आएको छ । यस वर्ष पशु सुत्केरी भत्ता वितरणमा पशुको बीमा अनिवार्य गरेपछि पशु बीमा गराउने किसानको सङ्ख्या पनि बढ्दै गएको छ ।

गाउँपालिकाले गत आवदेखि किसानलाई पशुपालनमा आकर्षित गराई नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन प्रोत्साहनस्वरुप रु एक हजार पाँच सय प्रदान गर्ने कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै किसानलाई आकर्षित गर्न प्रतिपशु सुत्केरी भत्ता रु १५ सय दिइँदै आएको छ ।

किसानले दूध बिक्रीबाट जीविकोपार्जनसमेत गर्दै आएका छन् । स्थानीय सरकार बनेपछि अनौठो मानिएको पशुलाई सुत्केरी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले किसानको मनोबल उच्च पार्न गाउँपालिकाले सदैव किसान लक्षित कार्यक्रम सञ्चालन गर्ने बताउनुभयाे ।

उहाँले कृषि क्षेत्रको सुधार र व्यवस्थापन बिना आर्थिक समृद्धि हासिल गर्न नसकिने भएकाले साना कुरालाई माथि उठाएमा किसानको मनोबल उच्च पार्न सकिने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयाे । उहाँका अनुसार खजुरालाई दूधमा आत्मनिर्भर बनाउने सङ्कल्प पूरा गर्न किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको हो ।

किसानले उत्पादन गरेको दूध बिक्री नभए गाउँपालिकाले दूधको बजारीकरण गर्ने सवालमा समेत सहयोग गर्ने उहाँको भनाइ छ । किसानलाई कृषि क्रान्ति गर्न गाउँ पालिकाले सहज र सरल किसानमैत्री वातावरण तयार गरिदिएको बताउनुभयो ।

पशुपालक किसानको संख्या घट्दै गएको अवस्थामा पशु सुत्केरी प्रोत्साहन भत्ता कार्यक्रम उपयोगी हुन सक्छ ।

Previous articleजानकी-५ का गरिब, बिद्यवा तथा एकल महिलाका लागि कम्बल बितरण
Next articleप्रधानाध्यापकहरुका लागि बिधालय सुधार योजना निर्माण कार्यशाला गुलरियामा शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here