चार दिनमै बाँकेमा ९२ जनामा दादुरा संक्रमण

नेपालगञ्ज । बाँके जिल्लामा दादुरा संक्रमणको महामारी नै फैलिएपछि नियन्त्रणका बिभिन्न उपायहरु तिब्र पारिएको छ । संघ, प्रदेश, जिल्ला स्वास्थ्य कार्यालय तथा सम्बन्धित पालिकाहरुको समन्वयमा दादुरा भेटिएका वडा तथा टोलहरुमा नियन्त्रणका बिभिन्न उपायहरु कार्यान्वयनमा तिब्रता दिइएको छ ।

जिल्लाको सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकामा संक्रमित भेटिएका छन् । छाटो समयमै नेपालगञ्ज उपमहानगरपालिका बिभिन्न वडाहरुमा बिरामीहरुको संख्या भेटिने क्रम बढ्दै गएको छ । संक्रमित पहिचानका लागि स्वास्थ्यकर्मीको टोली अभियानकै क्रममा रहेको छ ।

नेपालगञ्जमा मात्रै सोमबारसम्म ९० र खजुरा गाउँपालिकामा २ जना विरामी भेटिएका हुन् । दुई साताको अवधिमा ९२ जना विरामी भेटिएका हुन् । सोमबार मात्रै १४ जना विरामी भेटिएका स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । नेपालगञ्जका १० वटा वडा र खजुराका एउटा वडामा विरामी भेटिएका छन् ।

नेपालगञ्जको वडा नम्बर ७, ८ र ९ मा बढी विरामी भेटिएको नेपालगञ्ज उपहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनुभयो । वडा नम्बर ९ मा २९ जना, वडा नम्बर ८ मा २८ जना र वडा नम्बर ७ मा १५ जना दादराका विरामी भेटिएका छन् भने वडा नम्बर १ मा एक जनाको ज्यान गएको छ । यी प्रभावित वडाहरुमा चार दिनदेखि खोप अभियान चलिरहेको छ ।

दादुराको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि खोप अभियानलाई सशक्त ढंगले अगाडि बढाइएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । वडा नम्बर ४, ५, ७, ८, १४ र १५ नम्बर वडाका उपयुक्त स्थानमा खोप केन्द्र सञ्चालन गर्न जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय शिक्षक, धर्मगुरु, मदरसा शिक्षक लगायतको उपस्थितिमा अभिमुखीकरण गरी खोप केन्द्र छनौट गरिएको छ ।

यस्तै खोप अभियान शुरु भएको चौथो दिनसम्म दुई हजार एक सय १९ जनालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन श्रेष्ठले बताउनुभयो । सोमबार चौथो दिन तीन सय ९९ जनालाई खोप लगाइएको छ ।

६ महिनादेखि १५ बर्ष सम्मका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइँदैछ । यस्तै प्रभावित वडाहरुमा जनचेतनामूलक कार्यक्रमहरुलाई तिब्रता दिइएको छ ।

Previous articleजानकीको हिउँदे अधिवेशन शुरु
Next articleपर्यटन गन्तव्यको प्रसार गर्न ‘गेटवे अफ वेस्टर्न नेपाल’ संचालन हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here