
नेपालगञ्ज । पछिल्लो समय दादुराकाे महामारी फैलिएको नेपालगन्जमा यसबाट संक्रमित हुनेकाे संख्या ११३ पुगेकाे छ ।
नेपालगञ्जकाे वडा नम्बर-१, ३, ५, ७, ८, ९, १०, ११, १४, १५, १६ र २२ मा गरी १० वटा वडाका ११३ जनामा दादुरा संक्रमण देखिएको हो भने खजुराका २ जनामा संक्रमण पुष्टि भएकाे हाे । बुधबार मात्रै ५ जना संक्रमित भेटिएका छन् । याेसंगै संक्रमितकाे संख्या ११५ पुगेकाे छ ।
नेपालगञ्ज पुस १२ गते दादुराबाट संक्रमित भेटिएका थिए । उपमहानगरलिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार संक्रमित मध्ये दुई बालबालिकाको अवस्था गम्भीर छ ।
उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ । अरू संक्रमितलाई होम आइसोलेसनमा राखिएको छ । मिजल्स भाइरसका कारण केही दिनअघि नेपालगञ्ज ५ का ३१ महिने एक शिशुको मृत्यु भएको थियो ।
उपमहानगरले संक्रमित देखिएका सबै वडामा भिटामिन ‘ए’ र दादुरा विरुद्धको खोप दिइरहेको छ । खोप अभियान शुरु गरेको पाँचौं दिनसम्म नेपालगञ्जका ३ हजार ९ सय ३२ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयाे । जिल्लाका ७ हजार १ सय ६३ जनालाई खाेप लगाईएकाे छ । ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइरहेको श्रेष्ठले बताउनुभयाे ।





