नेपालगन्जका २३ वटै वडामा अनलाइन सिफारिस प्रणाली लागू

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा अनलाइन सिफारिस प्रणाली लागू भएको छ । २३ वटै वडाबाट अब अनलाइन सिफारिस हुने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

अनलाइन सिफारिस प्रणाली एपमार्फत् सेवाग्राहीले आफैं आवश्यक कागजपत्र अपलोड गरेर सिफारिसका लागि अनलाइन आवेदन पनि दिन सक्नेछन् । सेवाग्राहीले आफूले संलग्न गरेका कागजपत्र र प्रक्रिया पुगे नपुगेको जानकारी पनि एपमार्फत नै लिएर काम सम्पन्न भएको नभएको अवस्था एकिन समेत गर्न सक्नेछन् ।

त्यसपछि वडा कार्यालयमा पुगेर सिफारिस लिन सकिनेछ । सेवा लिन वडामा पुग्ने सेवाग्राहीलाई पनि वडा कार्यालयले अनलाइन सिफारिस वेबमार्फत अनलाइन सिफारिस प्रणालीबाट छिटोछरितो सेवा प्रवाह गर्नेछन् ।

२३ वटै वडामा अनलाइन सिफारिस प्रणाली सम्बन्धि वडा अध्यक्ष र वडा सचिवहरुका लागि आज आयोजित एक दिने अभिमुखीकरण तालिमलाई सम्बोधन गर्दे नगर प्रमुख प्रशान्त विष्टले अनलाइन सिफारिस प्रणाली लागू भएपछि नेपालगञ्ज उपमहानगरपालिका डिजिटलाइजेसनको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।उहाँले नेपालगञ्ज उपमहानगरपालिकालाई प्रविधिमैत्री बनाउने अभियानमा आफूहरु लागेको बताउँदै अनलाइन सिफारिस प्रणालीको सुरुवातले प्रविधिमैत्री सेवा प्रवाहमा नयाँ फड्को मारेको उल्लेख गर्नुभयो ।

उपप्रमुख कमरुद्दिन राईले अनलाइन सिफारिस प्रणालीको सुरुवातले सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाहसंगै समयको पनि बचत हुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले अब सबै वडाको सिफारिसमा एकरुपता आउने बताउँदै डिजिटलाइज सेवा प्रवाहले सहजता थप्ने उल्लेख गर्नुभयो ।

अभिमुखीकरण तालिममा अनलाइन सिफारिस प्रणाली के हो, यो प्रणाली चलाउने तरिका, यसका फाइदा र आउने जटिलताहरु कसरी सम्बोधन गर्ने लगायतका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत घनश्याम बर्मा, राजापुर नगरपालिकाका सूचना प्रविधि अधिकृत खुसीराम थारु, जिआइजेडका निराजन सुवेदी र अजिता पोख्रेलले प्रशिक्षण दिनुभएको छ ।

अभिमुखीकरण कार्यक्रममा २३ वटै वडाका वडा अध्यक्ष तथा वडा सचिवहरुको सहभागिता थियो ।  जिआइजेडको आर्थिक सहयोगमा अनलाइन सिफारिस प्रणाली विकास गरिएको हो ।

Previous articleनेशनल प्याब्सनद्वारा असहाय बाल संरक्षण केन्द्रलाई खाद्यान्न तथा नगद सहयोग
Next articleनरैनापुर-६ बाट सालकाे अबैध काठसहित तीन जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here