
नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकामा दादुरा महामारी फैलिएपछि बालबालिकाहरुलाई दादुरा रुबेलाविरुद्धको खोप प्रदान गर्न शुरु गरिएको छ । जोखिम देखिएका वडाहरुका ६ महिना देखि १५ वर्ष उमेर समुहका करिब १४ हजार २२ जना बालबालिकालाई बिहीबारदेखि खोप दिन शुरु गरिएको हो ।
दादुरा रुबेलाका लक्षणहरु देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी बालबालिकाहरुलाई खोप लगाउन अनुरोध गरिएको नरैनापुर स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले बताउनुभयो ।
नरैनापुरमा हालसम्म १४ जनामा दादुरा देखिएको छ । तीव्र गतिमा फैलिरहेको दादुरा महामारी नियन्त्रणका लागि खोप अभियान शुरु गरिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो ।
एउटा टोल तथा बस्तीमा ५ जनासम्म दादुराका विरामी देखापरेमा त्यसलाई महामारीको रुपमा लिने गरिन्छ ।दादुराविरुद्धको खोपप्रतिको सचेतना अभावका कारण खोप प्रयोग नगर्दा प्रकोप फैलिएको अध्यक्ष शाहले बताउनुभयो ।
अध्यक्ष शाहले प्रकोप फैलिएपछि सबैको ध्यानार्कषण भएको बताउँदै धर्मगुरु र समुदायसँग छलफल गरेर खोप अभियानमा सहयोग गर्न आग्रह गरिएको बताउनुभयो । नरैनापुर वडा नं २ का बालबालिकामा दादुरा धेरै देखिएको छ ।
स्वास्थ्य शाखाका प्रमुख शाहका अनुसार सबैभन्दा बढी ६-१५ वर्षमुनिका बालबालिकामा दादुराको संक्रमण देखिएको छ । दादुर बिरुद्धको खोप अभियानको पहिलो दिन नरैनापुरमा २ हजार ६ सय ६१ जना बालबाबालिकाले खोप लगाएको बिबेक पौडेलले जानकारी दिनुभयो ।
उहाँले ६ वटै वडामा ११ वटा खोप केन्द्र मार्फत खोप दिने काम भइरहेको जानकारी दिनुभयो । नरैनापुरमा शुरु भएको खोप अभियानको गाँउपालिका अध्यक्ष शाह, वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, भरत महतो र स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठ लगायतले गर्नुभएको छ ।
दादुराकै कारण बाँकेमा एक बालकको मृत्यु समेत भइसकेको छ । नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको थियो ।






