‘पावर परियोजना’लाई अझ प्रभावकारी बनाउन समन्वयात्मक बैठक

नेपालगञ्ज । सामाजिक विकास मञ्च बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालन गरेको पावर परियोजनाका बारेमा परिचयात्मक बैठक गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा आज गरिएको परियोजना परिचयात्मक बैठकमा कार्यक्रम संयोजक राम श्रेष्ठले परियोजनाको परिचय, लक्षित समुदाय, उमेर र लक्ष्य, कार्य क्षेत्र तथा सन् २०२३ का कार्यक्रम र योजनाबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।

सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित पावर परियोजनाले १३ देखि १५ बर्षका विद्यालय छाडेका वा छोड्ने सम्भावना भएका अति विपन्न सामुदायका बालबालिका र १६ देखि २४ बर्षका विद्यालय छोडेका वा रोजगारी र स्वरोजगारका लागि अवसरको खोजी गरिरहेका अति विपन्न समुदायका युवाहरु लक्षित गरेर काम गरिरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

बाल गरिबीलाई विषय क्षेत्र बनाइएको बताउँदै उनले जिविकोपार्जन तथा शिक्षामा ८९ प्रतिशत, यौन तथा प्रजनन स्वास्थ्य ४ प्रतिशत र सरसफाईमा ७ प्रतिशत काम गर्दै आएको जानकारी दिनुभयो ।

यो परियोजनाका लक्षित बर्ग अति गरिब तथा विपन्न परिवारका किशोरकिशोरी हुन् । जसमा महिला ५० प्रतिशत र अपांगता भएका २ प्रतिशतलाई अनिवार्य गरिएको छ ।

नेपालगञ्जका ५ वटा वडामा सञ्चालित यस परियोजनाले वडा नम्बर ८ स्थित घसियारन, कुमहारन र कसगर टोलका लक्षित किशोरकिशोरीका लागि मंगलप्रसाद मावि, वडा नम्बर ८ महेन्द्रपार्क र वडा नम्बर २ को बाल्मिकी टोलका लागि सरस्वती मावि, नेपालगञ्ज १२ को चिडिमार टोल, वडा नम्बर १ को शिव पार्वती मन्दिर र जुम्ली टोलका लागि धम्बोझी मावि तथा वडा नम्बर २१ पुरैना, नयाँबस्ती, विर्ता र वडा नम्बर २२ किंगरियनपुर्वाका लक्षित किशोरकिशोरीका लागि महाराजा मावि महाराजा माविलाई क्षेत्र बनाएर काम गरिरहेको छ ।

यस परियोजनाबाट किशोरी गर्भवस्थामा सुधार ल्याउने, लैंगिक परिवर्तन तथा समावेशितामा आधारति कार्यात्मक साक्षरतामा बृद्धि तथा युवाहरुको शैक्षिक मार्गमा सहयोग गर्ने, किशोरकिशोरीहरुको सम्मानजनक रोजगारीमा पहुँच बृद्धि गर्ने, उनीहरुको व्यक्तिगत विकास तथा वित्तीय सशक्तिकरणका निम्ति अपांगमैत्री, लैंगिकमैत्री नीति तथा योजना निर्माण गर्ने अपेक्षा छ ।

परिचयात्मक बैठकमा कार्यक्रम संयोजक श्रेष्ठले लघुउद्यम विकास तालिम, सीप विकास तालिम, शौचालय निर्माण, छात्रबृत्ति सहयोग, यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रवाह सहयोग, जीवन उपयोगी सीप सत्र सञ्चालन, क्याच अप कक्षा सञ्चालन, अपांगताका क्षेत्रमा विभिन्न कामहरुमा हालसम्म हासिल भएका उपलब्धिबारे चर्चा गरेका थिए । हालसम्म शौचालय नभएका ११ वटा घरधुरीहरुमा शौचालय निर्माणमा सहयोग गरेको उहाँले बताउनुभयो ।सन् २०२३ मा सञ्चालन हुने कार्यक्रम र योजनाबारे पनि उहाँले जानकारी गराउनुभएको थियो । पावर परियोजना सन् २०२१ जुलाईमा सुरु भएको हो । यसको समयावधि जुन २०२६ सम्म छ ।

कार्यक्रममा परियोजना सञ्चालन भएका वडाका वडा अध्यक्षहरुले हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । सामाजिक विकास मञ्चका अध्यक्ष चम्पासिंह थापा मगरको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यता सम्पन्न बैठकमा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, ८ का वडा अध्यक्ष विवेक बाजपेयी, १२ का अध्यक्ष तरुण बज्राचार्य, २१ का वडा अध्यक्ष राजकुमार साहु, महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह, स्वास्थ्य प्रमुख रामबहादुर चन्द, सामाजिक शाखा प्रमुख कृष्णप्रसाद जोशी, कृषि ज्ञान केन्द्रका सकिल अहमद, सेभ द चिल्ड्रेनकी प्रतिनिधि फूलकुमारी चौधरी लगायत उपस्थिति रहेको थियो ।

यसैबीच किशोरकिशोरीका लागि जीवन उपयोगी सीप सम्बन्धि तालिम निर्देशिका २०७९ को विमोचन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा नगर प्रमुख प्रशान्त विष्टले निर्देशिका विमोचन गरेका हुन् । त्यस क्रममा सेभ द चिल्ड्रेनकी प्रतिनिधि फूलकुमारी चौधरी, सामाजिक विकास मञ्चका राम श्रेष्ठ र वडा अध्यक्षहरु पनि उपस्थिति रहेको थियो ।

Previous articleबिहीबारदेखि खजुरास्थित मुसबेटवा बाबा मेला सञ्चालन हुने
Next articleकर्णाली सरकारले पूर्णता पायो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here