
खजुरा । हिन्दू-मुस्लिम समुदायका मानिसहरूको आस्थाको केन्द्र बिन्दु मानिने बाँकेको खजुरास्थित मुसबेटवा बाबा मेला बिहीबारदेखि सञ्चालन हुने भएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर ४ को आयोजना र न्यु डाँफे स्पोर्टस क्लब खजुराको व्यवस्थापनामा तीन दिने मुसबेटवा बाबा मेला माघ १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
वसन्त पञ्चमी अर्थात सरस्वती पुजाको दिन लाग्दै आएको मेला हिन्दू-मुस्लिम समुदायका मानिसले मुसबेटवा बाबाको मजारमा च्यादर चढाएर मेलाको शुभारम्भ हुने गर्दछ ।
वर्षौदेखि लाग्दै आएको मेलालाई थप व्यवस्थित गर्न स्थानीय युवाहरुलाई जिम्मेवारी दिइएको वडा नं ४ का वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्रीले जानकारी दिनुभयो ।
मेलामा आउने भक्तजनको उचित व्यवस्थापनमा स्वंयसेवक खटिने क्लवका सचिव यमनाथ दहालले बताउनुभयो । सो मेलालाई सफल बनाउन सबै स्टल र सुरक्षाको व्यवस्थापन मिलाउन सचिवालय स्थापना गरिएको आयोजक समितिले जनाएको छ ।
यसैगरी हिन्दू-मुस्लिमको आस्थाको केन्द्र मानिने बाँकेको नरैनापुर र खजुराको धार्मिक पर्टकीय स्थलमध्ये सरकारले ओझेलमा परेका पर्यटकीय स्थलको प्रवर्धनका लागि दुई बर्षअघि एक सय वटा नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने क्रममा डुडुवा गाउँपालिकास्थित कम्मर शाह बाबाको मजारलाई सूचीकृत गरिसकेको छ ।
मेलामा ५० हजारबढिले अवलोकन गर्ने अनुमान गरिएको छ ।





