
नेपालगन्ज । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशसरण महतले सरकारमा जानका लागि वर्तमान सरकारलाई समर्थन नगरिएको प्रष्ट्याउनुभएको छ ।
नेपाल प्रेस युनियन बाँकेले बिहीबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उहाँले गुण र दोषका आधारमा काँग्रेसले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभएको हो । उहाँले भन्नुभयो, ‘सरकारलाई समर्थन गरेपनि हामीहरु सरकारमा जाने होइन ।’
संसदको मर्यादाभित्र रहेर काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने डा.महतले बताउनुभयो । ‘हाम्रो पार्टीलाई पनि यसै बीचमा मजबुद गरेर जान्छौं, यसलाई एकतावद्ध बनाएर लैजाने, समग्र पार्टीको संरचनालाई पूर्णता दिने, त्यो काममा पनि हामी अहिले गृहकार्यमा लागेका छौं, उहाँले भन्नुभयो ।
सभामुख, राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति होस् भनेर कांग्रेसले सरकारको समर्थन गरेको बताउँदै प्रतिनिधी सभाका सांसद समेत रहेका डा. महतले भन्नुभयो, राष्टपति संस्था महत्वपूर्ण संस्था हो, संविधान रक्षाको जिम्मेवारी राष्टपतिमाथी छ, त्यो परिवेशमा पनि जुन एउटा समझदारी विकसित गर्ने भनेर भन्नु भएको छ, त्यसको पनि एउटा परिक्षण हुन्छ ।’
सञ्चारकर्मीको प्रश्नमा उहाँले राष्ट्रपतिमा कांग्रेसको दाबी रहेको तर कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपतिको उम्मेदवार नभएको पनि स्पष्ट पार्नुभयो । पार्टीले उपयुक्त समयमा नै यसबारेमा आवश्यक निर्णय गर्ने उहाँको भनाई छ ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न पत्रकार भेटघाटका क्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, पुर्वमन्त्री गजेन्द्रबहादुर हमाल, लुम्बिनी प्रदेशका निर्वतमान मन्त्री सुरेन्द्रबहादुर हमाल, काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरु लगायतको उपस्थिती रहेको थियो । पत्रकार भेटघाट कार्यक्रम सञ्चालन सचिव विजय मल्लले गर्नुभएको थियो ।





