
कम्दी । सामुदायिक वन र समुदायबीचको द्धन्द्ध समाधानका लागि दुबै पक्ष सहमतिमा जानुपर्नेमा जोड दिइएको छ । एक पक्षीय विवाद निकाल्दा अर्को पक्षले पनि त्यसै अनुसार प्रतिक्रिया जनाउँने भएकाले विवाद समाधान नहुने सहभागिको निष्कर्ष प्रस्तुत गरे ।
बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ र ५ मा रहेको बभनपुर्वा सामुदायिक वनको भोगचलन सम्बन्धिको विवाद समाधानका बिषयमा सोमबार गरिएको सरोकारवालाबीचको संयुक्त बैठकमा दुबै पक्ष सहमतिमा जानुपर्नेमा जोड दिइएको हो ।
सामुदायिक वन र समुदाय दुबै यसप्रकृति र जीवनका लागि आवश्यक भएकाले वनले मात्रै बस्तीमा असर पुग्नेगरी निर्णय लाद्न नहुने भन्दै सबैको साझा निर्णयमा जान उचित हुने बैठकमा बोल्नेहरुको भनाई थियो ।
बैठकमा बोल्दै प्रदेशसभा सदस्य भण्डारीलाल यादवले वन मानव समुदायका लागि अति आवश्यक रहेको र उत्पदानशील क्षेत्र वनबीना रहन नसक्ने भन्दै सबैको साझा आवश्यकतामा जोड दिनुभयो ।
उहाँले प्रकृतिको नास मानव समुदायको अन्त्य हुने र मानव जीवनका लागि चाहिने उत्पादनमा ह्रास आउने भएकाले मानवले वनको संरक्षण गर्नुपर्ने जिम्मेवारीलाई पनि बोध गराउनुभयो । मानवले भएका वन मासेर बस्तीको बिकास मात्रै गरेर जीवन नचल्ने हुँदा उचित र वनको संरक्षण तथा दिगोपनाका कार्यमा सक्रिय हुनुपर्ने सांसद यादवको जोड थियो ।
नेपालगञ्ज सव डिभिजन बन कार्यालय राँझाका रेन्जर दिपक खड्काको अध्यक्षमा बैठकमा डुडुवा गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष झंक बहादुर थापा, वडा नं ४ का वडाअध्यक्ष सगिर खाँ, डुडुवा गाउँपालिका बिपत व्यवस्थापन फोकल पर्सन मान बहादुर बोगटी, कृषि शाखाका हनुमान प्रसाद यादव, केन्द्रकी सहजकर्ता पानसरा बि.क, बभनपुर्वा सामुदायक वन, उपभोक्ता, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।
बैठकमा बोल्दै रेन्जर खड्काले वन संरक्षण गर्नु सरकारको दायित्वसंगै समुदायको जिम्मेवारी रहेको बताउनुभयो । उहाँले वन बिनासतर्फ समुदायले सोच्न नहुने भन्दै उहाँले समुदायको अस्तित्वका लागि वन आवश्यक रहेको बताउनुभयो । समुदाय वनबीचको विवाद समाधानका लागि आवश्यक छलफलहरु निरन्तर हुनुपर्ने पनि बताउनुभयो ।
प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको प्रयासमा वन र समुदायबीच रहेको बिवादको व्यवसथापनकाका लागि छैठो चरणमा पक्षहरुबीच संयुक्त बैठक बसेको केन्द्रका सहजकर्ता रसिद खाँनले जानकारी दिनुभयो ।





