
नेपालगन्ज । बाँकेको कोहपलुरमा श्रीमानद्धारा पेट्रोल खन्याएर आगो लगाईएकी गंगा विकलाई थप उपचारका लागि काठमाण्डौ पठाईएको छ ।
मंगलबार भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट बद्री चापागाईका अनुसार गंगा विकको थप उपचारका लागि काठमाण्डौको टिचिंग अस्पताल पठाईएको हो ।
आईतबार बाँकेको कोहलपुर नगरपालिका वडा न-२ शक्तिनगरमा बस्दै आएका भानुभक्त विकले श्रीमती र २ वर्षीय छोरालाई पेट्रोल खन्याएर आगो लगाएका थिए ।
शरीरको भाग पुरै जलेको हुनाले २ वर्षीय बालक प्रिन्स विकको सोमबार उपचारको क्रममा ज्यान गएको थियो । सामान्य घर झगडामा श्रीमतीलाई आगो लगाएको भानुभक्तले प्रहरी समक्ष स्वीकार गरेका छन् ।
घरमा श्रमती र छोरालाई आगो लगाएपछि फरार भएका विकलाई सोमबार राती नै ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतीय सिमानाका जमुनाहाबाट पक्राउ गरेर कारवाहीको प्रकृया अघि बढाईसकेको छ ।





