हात हेराउनेको कुरा सुनेर श्रीमती र छोरालाई जिउँदै जलाए, आफु पुगे प्रहरीको खोरमा

रुपनी जि.एम/भिष्म लोध, काेहलपुर । ‘मेरो श्रीमानलाई हात हेराउनेले तेरो श्रीमती त अर्कैसंग लागेकी छ, बिचार गर है भनेपछि उहाँले मसंग विगत १ वर्षदेखि अलिअलि झगडा गर्दै आई रहनुभएको थियो । तर झगडाले विस्तारै शंकाको रुप लिन थाल्यो र त्यसैको नतिजा हो, उहाँले मलाई पेट्रोल खन्याएर जिउँदै जलाई दिनुभयो ।’ अस्पतालको शैयाबाटै गंगा विकले आफुलाई श्रीमानले आगो लगाउनुको कारण यसरी सुनाउनुभएकाे छ ।

श्रीमान भानुभक्त विकद्धारा पेट्रोल छर्किएर आगो लगाईएकी गंगलाई थप उपचारका लागि काठमाण्डौ पठाउँदै गर्दा उहाँले अस्पतालको शैयाबाटै मलाई केही कुरा भन्नु छ भन्दै सकि नसकि भन्नुभयाे,‘मेरो घरमा झगडा त्यही हात हेराउनेकै कारण भएको हो । उस्ले मेरो श्रीमानको दिमागमा मेरो खराब चरित्रको बारेमा केही नबोलि दिएको भए आज मेरो यो गति हुने थिएन । त्यो हात हेराउनेलाई र मेरो श्रीमानलाई त्यहाँसम्म पुर्याउने तीन जनालाई पनि कारवाही हुनुपर्छ ।’ काठमाण्डौ जानु पुर्व उहाँले श्रीमानसंगै हात हेराउने र हात हेराउने कहाँसम्म पुर्याउने तीन जनालाई समेत कारवाही गरिनुपर्ने माग गर्नुभयाे ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं-२ शत्तिनगरकी गंगा विकलाई श्रीमानले यही माघ १५ गते आईतबार साँझ ७ बजेतिरको समयमा पेट्रोल छर्किएर आगो लगाएका थिए । श्रीमानले लगाएको उक्त आगो सल्किएर गंगाको अनुहार बाहेक घाँटीको भाग पुरै जलेको छ ।

घाउहरु पाकेर दुखाइ पनि उस्तै सही नसक्नु भएको छ । तर गंगालाई भने त्यो भन्दा बढि पिडा त्यो हात हेराउने र श्रीमानलाई हात हेराउने कहाँसम्म पुर्याएर अन्धविश्वासी हुन बाध्य बनाउने ती चारै जना अपराधिको व्यवहारले दिईरहेको छ ।

श्रीमानले पेट्रोल छर्किंदा गंगालले आफ्नो ढाडमा दुई बर्षे दुधे छोरालाई बोकी रहनुभएकाे थियाे । जब श्रीमानले सलाई कोरेर गंगाको शरीरमा फ्याँके तब गंगासंगै पेट्रोलामा लतपतिएको उहाँको छोरा पनि जल्न पुगे ।

आगोको तापले भन्दा गंगालाई आफुसंगै उपचार गराई रहेको दुधे बालको मृत्युको खबरले झनै तड्पायो । उहाँलाई भेट्न जाँदा उहाँ यसै पिडामा आइसियुको बेडमा छटपटाइरहनुभएकाे थियाे । उहाँको थप उपचारका लागि काठमाण्डौ लैजांदै गर्दा गंगाको चित्कार बाहिर नसुनिए पनि उहाँको मन छोराको सम्झनाले भतभति पोलिरहेको थियो ।गंगाका श्रीमान भानुभक्त विक भारतमा गलैचादेखि सिरकसम्मको ब्यापार गर्दै आईरहनुभएकाे थियाे । गंगाा भने २ छोरी र २ छोरासंग घरमै बस्नुहुथ्याे । माइतीले बन्दोबस्त मिलाइदिएपछि कालिकोटबाट कोहलपुरमा उहाँ परिवारसहित घर बनाएर बस्नुभएकाे थियाे ।

आफुसंगै आगोमा जलेको २ वर्षे दुधे बालक प्रिन्सलाई बचाउन डाक्टरहरुले धेरै कोशिस गर्दा पनि बचाउन सकेनन् । अन्ततः गंगाका २ वर्षीय छोरा प्रिन्स बिकले सोमबार बिहान अस्पतालकै शैयामा अन्तिम सास फेरेर आफ्नी आमा र यो संसारलाई छाडेर गए ।

श्रीमती र छोरालाई पेट्रोल छर्किएर आगो लगाई भागेका भानुभक्तलाई भने कोहलपुर ईलाका प्रहरी कार्यालयबाट खटेको प्रहरीको टोलीले भारतीय सिमानाका जमुनाहाबाट पक्राउ गरी कारवाहीको प्रकृया अघि बढाई सकेको छ । ईलाका ईन्चार्ज एवं प्रहरी नायब उपरीक्षक ऐन बहादुर मल्लका अनुसार भानुभक्तले श्रीमती परपुरुषसंग लागेको आशंका गर्दा यो घटना घटेको बुझिएको छ ।

यस्ता घटनाहरु समाजमा फरक-फरक स्वरुपमा दिनहुँ घटि नै रहेका हुन्छन् । तर विडम्बना पिडित सधैं महिला नै बनिरहन्छन् । घटनाको प्रकृतिका बारेमा लेख्ने, पढ्ने, सुन्ने र कारवाहीको प्रकृयामा ल्याएर सजाय दिलाउनेहरुका लागि यी घटनाहरु दिनहुँ नै सामान्य बन्दै गई रहेका छन् ।

तर वास्तविक दोषी को हो ? भनेर अध्ययन गर्ने हो भने ती पर्दा पछाडिका पात्रहरु समाजमा सुलसुले जस्तो भएर फैलिरहेका छन् । जस्ले विस्तारै-विस्तारै समाजलाई निकै डरलाग्दो स्वरुपमा ढाल्दैछन् । अनि शिकार प्राय महिलालाई नै बनाई रहेका हुन्छन् ।

सरसर्ति हेर्दा घटनामा सधैं पिडित र पिडक कारक अनि कारण देखिन्छन् । तर यस्ता घटना घटाउनका लागि उकास्ने पात्र भने सधैं नै त्यही समाजभित्रै सुरक्षित बसिरहेका हुन्छन् । जस्लाई हामीले नजर अन्दाज गरिरहेका हुन्छौं । त्यसैले उनीहरुको साहस फेरी अर्को घटना घटाउनका लागि बढिरहेको हुन्छ । यो विषयमा गम्भिर भएर सोंच्न सबैले आवश्यक छ ।

Previous articleमहोत्सवमा आज चर्चित गायिका ज्योति मगरको प्रस्तुति
Next articleहिन्दुराष्ट्र र राजसंस्थाको वकालत गर्छौं, हामीलाई हेप्न पाइँदैन : धवलशमशेर जबरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here