
नेपालगन्ज । मिडियाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि नेपालगन्जमा बिहीवार स्वास्थ्य प्रबर्द्धन सेवा सम्बन्धी पैरवी कार्यक्रम गरिएको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश भालुवाङको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका स्वास्थ्य शिक्षा निर्देशक भरत बहादुर कुवंरले मिडियाकर्मीमार्फत उपलब्ध स्वास्थ्य सेवाबारे आम नागरिकलाई सत्यतथ्य सूचना सम्प्रेषणका लागि स्वास्थ्य प्रवर्द्धन सेवा सम्बन्धी पैरवी कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँले शारीरिक, मानसिक, भावानात्मक तथा सामाजिकरुपमा स्वस्थ भएमात्र मानिस स्वस्थ हुने बताउनुभयो । उहाँले अहिले सम्म उपचरात्मक सेवालाई जोड दिदै आइएको भएपनि अब भने स्वास्थ्य प्रबर्द्धन सेवालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले नसर्ने रोगको अवस्था अहिले विकराल बन्दै गएको बताउनु भयो । उहाँले मुटु, प्रेसर जस्ता नसर्ने रोग अहिले घातक बनेको भन्दै त्यसबारेमा पैरवी तथा उपचारलाई प्राथमिकता दिइएको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीले स्वास्थ्य प्रबर्द्धनका लागि मिडियाले पैरवी गर्ने बेला आएको बताउनु भयो । उहाँले स्वास्थ्य प्रबर्द्धन सेवालाई अगाडि बढाउन महासंघ समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख डा.शंकर केसी, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत लगायतले स्वास्थ्य सेवा प्रबर्द्धनमा जोड दिदै नीतिगतरुपमा हेल्थ प्रोफाइल आवश्यक रहेको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक राजन शाहीले सहजीकरण गर्नु भएको थियो ।





