
कोहलपुर । कोहलपुर नगरपालिका वडा नं १३ का बालबालिकाहरुलाई लक्षित गरि संचालन गरिएको निःशुल्क स्वास्थ्य जाँच शिबिरमार्फत ८९ जना बालबालिकाले सेवा लिएका छन् ।
ओम प्रकाश स्मृतिमा सद्भाव फाउन्डेसनले आयोजना गरेको शिबिरमा ४४ बालिका र ४९ बालकले सेवा लिएको हेल्थ असिस्टेन्ट अजय बर्णवालले जानकारी दिनुभयो ।
सद्भाव फाउन्डेसनका संरक्षक राजवीर बर्णवालले स्वस्थ जीवन समृद्ध समाज भन्ने उद्देश्यले स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा बाल रोग विशेषज्ञद्वारा निःशुल्क स्वास्थ्य जाँच कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा आएका अधिकांश बालबालिकामा रुघाखोकी, पेटको समस्या, कानको समस्या र फंगल इन्फेक्सन देखिएको उपचारमा संलग्न बालरोग विशेषज्ञ डा.राजेश केसीले बताउनुभयो ।
दुई जना बालबालिकामा भने मुटुरोग सम्बन्धि समस्या देखिएकाले ती बालबालिकालाई मुटुरोग विशेषज्ञसंग परामर्श तथा उपचार सेवा लिन सुझाइएको पनि डा.केसीले जानकारी दिनुभयो ।
सद्भाव फाउन्डेसनका अध्यक्ष मन्जुल भट्टराईको अध्यक्षतामा भएको शिबिरमा स्वास्थ्य जाँच कार्यक्रमको उद्घाटनमा बोल्दै वडा अध्यक्ष डम्बर खड्काले सद्भाव फाउन्डेसनले आयोजना गरेको निःशुल्क स्वास्थ्य जाँचले स्थानीय बालबालिकालाई ठूलो राहत पुगेको बताउनुभयो ।
स्वास्थ्य कार्यालय बाँके, कोहलपुर नगरपालिकाको सहयोग, कोहलपुर नगरपालिका १३ को समन्वय तथा लाइफ ओके पोलिक्लनिकको सहकार्यमा स्वास्थ्य जाँच शिबिर संचालन गरिएको हो ।





