खजुरास्थित लक्ष्मी नारायण मन्दिरमा ठुलो आकारको मुर्ति स्थापना गरिने

हरि अधिकारी, खजुरा । बाँके र बर्दियामा धार्मिकरुपमा प्रसिद्ध खजुराको लक्ष्मी नारायण मन्दिर परिसरमा ठुलो आकारको लक्ष्मीको मुर्ति स्थापना गरिने भएको छ । मन्दिर परिसरमा भएको भेलाले मुर्ति स्थापनाका लागि महायज्ञ संचालन गर्ने निर्णय गरिएको छ ।

महायज्ञका लागि शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विकले लक्ष्मी नारायण मन्दिरलाई केन्द्रमा राखेर खजुराका अन्य धार्मिकस्थलहरुको प्याकेज बनाउन सकिने बताउनुभयो ।

उहाँले खजुरा क्षेत्रमा रहेका अन्य मठ मन्दिरहरुलाई धामकारुपमा विकास गरेर धार्मिक पर्यटकलाई खजुरा भित्राउन गाँउपालिकाले योजना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्दिर परिसरमा गरिने हरेक संकल्प पूरा हुने जनविश्वास कमाएको लक्ष्मी नारायण मन्दिरलाई त्यस क्षेत्रकै धार्मिक पर्यटनको केन्द्र बनाउने गरि महायज्ञ गर्ने तयारी अगाडी बढाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताउनुभयो ।

मन्दिर परिसरमा गरिएको संकल्पबाट खजुरामा पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पताल निर्माण भएको, खजुरामा महत्वकांक्षी खानेपानी योजना सफल भएको, खजुरा संरक्षण समितिको जन्म भएको प्रमाणहरु पेश गर्दै अध्यक्ष श्रेष्ठले मन्दिरमा संकल्प गरेर आँटिएका उद्योग कलकारखाना र व्यवसाय पनि सधैं सफल भएको दाबी गर्नुभयो ।

खजुरा वडा नं ३ का वडाअध्यक्ष पुर्णबहादुर भण्डारीले वडाबाट मुर्ति स्थापना गरि धार्मिक पर्यटन प्रवर्धन गर्न तत्काल एक लाखको बजेट घोषणा गर्दै थप बजेटका लागि पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नं २ का वडाअध्यक्ष धनिराम ओली, बाम नेता तथा सामाजिक अभियन्ता भक्तबहादुर केसी, कांग्रेस महासमिति सदस्य लक्ष्मी नारायण शाह, कांग्रेसका पूर्व बाँके सभापति कृष्णमान श्रेष्ठ, खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकी लगायतले खजुराको मन्दिरमा गरिएको संकल्प सबै पुरा भएको धारणा राख्नुभएको थियो ।

२०४३ सालमा स्थापना भएको लक्ष्मी नारायण मन्दिर परिसरभित्रै शिवालय, विश्वकर्मा र हवनकुण्ड तथा रुद्री अभिषेकस्थल स्थापना गरिएको छ । पालिकाका अध्यक्ष बिकले मन्दिरमा दियो बालेर बैठकको उद्घाटन गर्नुभएको थियो । बैठकमा खजुराका ब्यापारी, बुद्धिजीवी, समाजसेवी तथा राजनीतिक दलका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Previous articleमहोत्सवमा चर्चित कलाकारको बेजोड प्रस्तुति, रमाए दर्शक
Next articleनेपालगन्जमा टिकटक मिट, टप थ्री फ्लाेवर्सलाई कदर पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here