
कोहलपुर । कोहलपुर नगरपालिकाले ऐलानी जग्गा नापजाँच कार्यलाई तीब्र पारेको छ । भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोवासीलाई जमिनको मालिक बनाउन जग्गा नापजाँचलाई तीब्रता दिइएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।
आजदेखि कोहलपुर नगरपालिका वडा नम्बर-१२ मा पनि ऐलानी जग्गा नापजाँच सुरु भएको छ। अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिन नापजाँच गरिने वडा अध्यक्ष वीरेन्द्र बहादुर शाहले जानकारी दिनुभयो ।
वडा नम्बर १२ मा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित १ हजार ६८० कित्ता रहेको शाहले बताउनुभयो । यसअघि लुटबहादुर रावत नगर प्रमुख हुँदा वडा नम्बर-१ मा मात्रै ऐलानी जग्गा नापजाँच पूरा भएको थियो ।
वडा नम्बर-१ मा एक हजार ५६६ कित्ता नापजाँच भएको थियो । यस्तै वडा नम्बर-२ मा मुक्तिनगर, शक्तिनगर र बिकास नगरको १ हजार ७३० कित्ता नापजाँच भएको थियो ।
नगर प्रमुखमा आचार्य नेतृत्वको जनप्रतिनिधि आएपछि भने कोहलपुरमा ऐलानी जग्गा नापजाँच कार्यलाई तीब्र पारेको हो । वडा नम्बर-२ मा मात्रै अहिले एक हजार ८४९ कित्ता जग्गा नापजाँच सम्पन्न भैसकेको छ । वडा नम्बर-२ मा ऐलानी जग्गा नापजाँचको काम आज पूरा भएको वडा अध्यक्ष हरिसिंह कठायतले जानकारी दिनुभयो ।
हामी निर्वाचित भएर आएपछि नै भूमिहीन, दलित र सुकुमबासीलाई जग्गाको स्वामित्व दिने गरि ऐलानी जग्गा नापजाँच कार्यलाई तीब्र पार्ने योजनामा थियौं नगर प्रमुख आचार्यले भन्नुभयो-बर्खायाम, त्यसपछि निर्वाचन आचारसंहिता लगतै दसैं तिहार जस्ता चाडबाडका कारण रोकिएको थियो ।
अब यो काम द्रुतगतिमा अघि बढ्छ ।´ अबको २/३ महिनामा नापजाँचको काम सक्ने गरि आफुहरु लागेको नगर प्रमुख आचार्यको भनाइ छ । यस्तै नगर उपप्रमुख संगिता सुवेदीले अब कोहलपुर नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र जमिन भएर पनि स्वामित्व नभएका अव्यवस्थित बसोवासी नागरिक जमिनका मालिक बन्ने बताउनुभयो ।
‘चुनावका वेला जनतासँग लालपुर्जा वितरण गर्ने वाचा थियो,’ उहाँले भन्नुभयो, ‘त्यही वाचाअनुरूप हामी निरन्तर जनताको काममा जुटेका छौँ।’ कोहलपुर नगरपालिका भुमि सहजीकरण समितिका संयोजक समेत रहनु भएका वडा नम्बर-१२ का वडा अध्यक्ष शाहले ऐलानी जग्गा नापजाँचमा २१ जनाको अमिन टोलि खटिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कोहलपुर नगरपालिकाबाट ९ जना, भुमि आयोगबाट ६ जना र जिल्ला नापी कार्यालयबाट टोलि प्रमुखसहित ६ जना गरी २१ जना अमिनको टोलि खटिएको हो । उहाँले तत्काल वडा नम्बर १० मा पनि ऐलानी जमिन नापजाँच सुरु हुने बताउनुभयो ।
‘जमिन भएका, तर वर्षौँदेखि लालपुर्जाविहीन अव्यवस्थित बसोवासीलाई जमिनको मालिक बनाउँछौँ । भूमिहीन दलित र सुकुमबासीलाई समेत जमिन धनी बनाउँछौँ’ उहाँले भन्नुभयो । कोहलपुर नगरपालिकामा यसअघि भूमिहीन दलित,भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासी करिब १७ हजार छ्न् ।





