स्थानीयस्तरमा जोखिम नक्सा प्रमाणिकरण तथा प्रसार कार्यशाला, विपतसंग जुध्न सहज हुने : मेयर बिष्ट

नेपालगञ्ज । नेपालगञ्जमा आज स्थानीयस्तरमा जोखिम नक्सा प्रमाणिकरण तथा प्रसार कार्यशाला सम्पन्न भएको छ ।

प्राकृतिक विपतको जोखिममा रहेका बस्तीहरुमा भौगोलिक सूचना प्रणाली (जिपिएस) मार्फत गरिएको नक्सांकनको पृष्ठपोषण लिने गरी आयोजित कार्यशालामा सरोकारवाला निकाय, संघसंस्था एवम् स्थानीयहरुको सहभागिता थियो ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोग र सिडिएमको सहभागितामा नेपालगञ्ज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) अन्तर्गत कार्यशाला गरिएको हो । यो परियोजना वडा नम्बर ३ र ७ मा सञ्चालित छ ।

कार्यशालामा नक्सांकनको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै तयार पारिएका नक्साका सम्बन्धमा उपस्थित सरोकारवालाहरुको पृष्ठपोषण लिइएको छ । विपतका बेला कम भन्दा कम क्षतीका लागि पूर्व तयारी स्वरुप सुपर प्रोजेक्टले जोखिम क्षेत्रको जिपिएसमार्फत नक्सांकन गरेको हो ।

कार्यशालामा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले विपतबाट हुने क्षती न्यूनीकरणका लागि स्रोत नक्सांकन अति जरुरी रहेको भन्दै यसले विपतसंग जुध्न सहज हुने उल्लेख गर्नुभयाे ।नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाका सभापति गोवर्धनसिंह सम्झनाले विपतसंग जुध्न आपसी सहकार्य र हातेमालो आवश्यक रहेको भन्दै पूर्व तयारीका लागि जोखिमयुक्त बस्तीहरुको सुक्ष्म तरिकाले अध्ययन गरेर नक्सांकन भएको बताउनुभयाे । त्यसक्रममा उपस्थित सबैले तयार पारिएका नक्साहरुको अवलोकन गरेका थिए ।

कार्यशालामा युनिसेफका नेपालगंज प्रमुख दिपक श्रेष्ठले कार्यशालाको उद्देश्यमाथि प्रकाश पार्नुभएकाे थियाे भने सुपर प्रोजेक्टका प्राविधिक अधिकृत नरेश निदालले प्रस्तुतिकरण गर्नुभएकाे थियाे । नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसीले विपत व्यवस्थापनमा भइरहेका कामहरुबारे जानकारी गराउनुभएकाे थियाे ।

कार्यशालाबाट प्राप्त पृष्ठपोषणलाई समेटेर नक्सांकनलाई अन्तिम रुप दिएपछि नेपालगञ्ज उपमहानगरपालिका र सरोकारवाला निकाय र संघसंस्थालाई हस्तान्तरण गरिने आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयाे ।

कार्यशालामा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रवक्ता प्रमोद रिजाल, वडा नम्बर ३ का वडा अध्यक्ष मो.अयुव सिद्दिकी, ७ का अध्यक्ष प्रशान्त श्रेष्ठ लगायत सरोकारवाला, स्थानीयकाे उपस्थिति रहेकाे थियाे ।

Previous articleकोहलपुरमा ऐलानी जग्गा नापजाँच तीव्र
Next articleचर्चित गायकद्धय शर्मा र खत्रीको गीतमा झुमे दर्शक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here