
नेपालगञ्ज । नेपाल रेडक्रस सोसईटी पुरैनी उपशाखाले यही फागुन १४ गते बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । उपशाखाले गैरसरकारी संस्था दिवसको अवसर पारेर पुर्व सन्ध्यामा फागुन १४ गते पुरैनीमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो ।
रगत आवश्यकताको अभाव कम गर्न सकिने उद्देश्यका साथ रक्तदान कार्यक्रम गर्ने निर्णय भएको रेडक्रस सोसाईटी पुरैनी उपशाखा सभापति शिव कुमार बर्माले जानकारी दिनुभयो । कार्यक्रमलाई बृहत बनाउन शनिबार बिभिन्न सरोकारवालाहरुसंग समन्वयात्मक छलफल समेत गरिएको छ । छलफलमा संस्थाहरुले आआफ्नो तर्फबाट रक्तदाता जुटाउने तथा कार्यक्रमलाई बृहत बनाउन स्वयंसेवकसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बैठकमा बोल्दै गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले रक्तदान कार्यक्रमका लागि संघसंस्थाहरुबीच छलफल गर्नु राम्रो रहेको बताउनुभयो । उहाँले यसैगरी नियमित रुपमा कार्यक्रमहरुमा सहकार्य समन्वय गर्नुपर्ने बताउनुभयो । यस्ता सामाजिक कार्यमा सबैको सहयोग हुनुपर्ने धारणा पनि राख्नुभयो ।
बैठकमा उपशाखा पुरैनी उपसभापति तथा कोपिला महिला कृषि सहकारी अध्यक्ष खगेश्वरी रावत, नियमित रक्तदाता तथा समाजसेवी पवन जैसवाल, युवा घरका अध्यक्ष मन भण्डारी, नाईस नेपालगञ्जका अध्यक्ष हेमराज भट्ट, जिल्ला युवा क्लब संजाल बाँकेका मनमोहन बर्मा, रेडक्रस बेतहनी उपशाखा सदस्य समसुद्दिन खाँ, संत निरंकारी मण्डलका शंकर बस्याल, साना किसान कृषि सहकारी संस्थाकी अम्बिका गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।





