
नेपालगन्ज । नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले आयुर्वेद औषधी व्यवसायी तथा स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ ।
शनिबार अस्पताल परिसरमा नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले नेपाल आयुर्वेद औषधी व्यवसायी संघ तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं महाधिवेशन÷राष्ट्रिय अधिवेशनबाट केन्द्रिय कार्यसमितिमा चयन भएका आयुर्वेद औषधी व्यवसायी र स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो ।
हस्पिटलका अध्यक्ष एवम् संविधान सभा सदस्य मैकुलाल वाल्मिकी, हस्पिटलका प्रमुख प्रसाकिय अधिकृत प्रभाकर मिश्र, निर्देशक डा.शिवराज सुवेदी लगायतले निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गर्नुभएको थियो ।
नेपाल आयुर्वेद व्यवसायी संघका सह–कोषाध्यक्ष एवम् नारायणी आयुर्वेदका वेदव्यास सुवेदी, केन्द्रीय सदस्य एवम् प्रदेश संयोजक फेमिली आयुर्वेदका गिरीराज शर्मा भंटराई र केन्द्रीय सदस्य एवम् मनकामना आयुर्वेद फर्माका लक्ष्य बहादुर विकलाई सम्मान गरिएको हो ।
कार्यक्रममा बाँके जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा.अनिल चौधरी, आयुर्वेद हस्पिटलका डा.मनोज कुमार यादव, कौशिल्या अस्पतालका संचालक राम प्रसाद न्यौपाने, आयुर्वेद हस्पिटलका लेखा तथा व्यवस्थापन प्रमुख प्रिन्सी मिश्र, पदमा थापा लगायतको उपस्थिती रहेको थियो ।
सम्मान कार्यक्रमसँगै शनिबार नेपालमा आयुर्वेद चिकित्सा सेवा र आयुर्वेद शिक्षाको विकास र विस्तारको बारेमा अन्तरक्रिया समेत भएको थियो । अन्तरक्रियामा सहभागिहरुले नेपालमा आयुर्वेद उपचार पद्धतिप्रति आम नागरिकको चासो र विश्वास बढ्दै गएको बताएका थिए ।
नेपालगन्ज आयुर्वेद हस्पिटलका अध्यक्ष वाल्मिकीले नेपालगन्जमा उच्च गुणस्तरीय सेवा र शिक्षा प्रदान गर्ने उद्देश्यले नेपालगन्ज हेल्थ क्याम्पसले आयुर्वेदमा आफनो ध्यान केन्द्रित गरेको बताउनुभयो ।
हस्पिटलका निर्देशक डा.शिवराज सुवेदीले आयुर्वेद क्षेत्रमा गुणस्तरीय शिक्षा र गुणस्तरीय जनशंक्तिको आवश्यकता बढदै गएको बताउनुभयो । आयुर्वेद क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुबिच सहकार्यले नेपालमा शिक्षा र चिकित्सा क्षेत्रमा थप सफलता हासिल गर्न सकिने उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य एवम् प्रदेश संयोजक शर्मा भंटराईले विगतमा महिनामा २० हजार पनि औषधी विक्री नहुने अवस्थाबाट गुज्रिएको आयुर्वेदले अहिले निकै प्रगति गरेको बताउनुभयो ।
नेपालगन्जमा १५ शैयाको आयुर्वेद अस्पताल खुल्नु आयुर्वेद क्षेत्रको लागि निकै खुसीको कुरा भएको उहाँले बताउनुभयो । नेपालमा निजी क्षेत्रको आयुर्वेदमा आर्कषण र लगानी बढनुले यसको भविष्य थप राम्रो हुँदै गएको संकेत गरेको भंटराईले बताउनुभयो । कार्यक्रमका सहभागिहरुलाई हस्पिटलको लेखा तथा व्यवस्थापन प्रमुख मिश्रले स्वागत गर्नुभएको थियो ।





