
नेपालगन्ज । बाँकेमा याे पटक ६ लाख बढीलाई हात्तीपाईले राेगबिरूद्वकाे औषधी खुवाईने भएकाे छ । स्वास्थ्य कार्यालय बाँकेले बुद्वबार पत्रकारहरूसंग अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गर्दै जिल्लामा याे पटक ६ लाख १६ हजार ६९५ जनालाई औषधी खुवाउने लक्ष्य रहेकाे जनाएको हाे ।
नेपालगन्जमा मात्रै १ लाख ७० हजार ५९८ जना, कोहलपुरमा १ लाख २ हजार ९०४ जना, खजुरा गाउँपालिकामा ६५ हजार ३०७ जनालाई औषधी खुवाउने लक्ष्य रहेकाे छ ।
त्यसैगरी जानकी गाउँपालिकामा ४७ हजार ७३३, डुडुवा गाउँपालिकामा ४४ हजार १४४, नरैनापुर गाउँपालिकामा ४४ हजार ८०७, बैजनाथ गाउँपालिकामा ७१ हजार ८६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार ३४१ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोग फोकलपर्सन दुर्गा गौतमले जानकारी दिनुभयो ।
बाँकेमा आर्थिक वर्ष २०६७/०६८ देखि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन सुरु गरिएको हो भने याे वर्ष यही फागुन ११ गतेदेखि १३ औं पटककाे सुरु हुने भएको हाे ।
पहिलो वर्ष भएको केही असावधानी र वास्तविकता बुझाउन नसक्दा भएको दुर्घटनाले त्यसपछि औषधी सेवनको कभरेज घट्दै गएको हो । गतवर्ष बाँकेमा ६८ प्रतिशतले मात्रै औषधी सेवन गरेका थिए ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले अभियानलाई प्रभावकारी गराउन मिडियाकर्मी, जनप्रतिनिधि, राजनीतिक दल तथा बुद्धिजीवि सबै वर्गले सफल बनाउन आग्रह गर्नुभयो ।





