
नेपालगञ्ज । बाँके जिल्ला बुद्धिचाल संघको अध्यक्षमा अभिराज क्षेत्री निर्वाचित हुनुभएको छ । नेपालगञ्जमा बुधबार सम्पन्न बाँके जिल्ला बुद्धिचाल संघ तदर्थ समितिको साधारणसभाले क्षेत्रीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा पशुपति नाथ योगी, सचिवमा मदन वली, कोषाध्यक्षमा ज्योति पटहर निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा सदस्यहरुमा क्रमशः सुरेश चौधरी, धर्मेन्द्र कुमार बर्मा र ईश्वरी थापा मगर रहने गरी संघको नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको छ ।
तदर्थ समिति संयोजक पशुपति नाथ योगीको सभापतित्वमा साधारण सभामा बोल्ने वक्ताहरुले संघमा कुनै राजनीतिकरण हुन नदिएको धारणा राख्नुभएको थियो ।
साधारणसभाबाट बाँकेमा चेस खेलतर्फ भएका उपलब्धीहरुलाई संस्थागत गरि थप प्रगतितर्फ उन्मुख हुने निर्णयहरु गरिएको छ ।
साधारण सभाले लुम्बिनी प्रदेश बुद्धिचाल संघ तथा नेपाल बुद्धिचाल महासंघको निर्वाचन प्रक्रियाका निम्ती बाँकेबाट जाने प्रतिनिधि चयन गर्ने सम्पुर्ण अधिकार र जिम्मेवारी नव निर्वाचित कार्यसमितिलाई सुम्पेको छ ।
साधारणसभामा नेपाल बुद्धिचाल महासंघका सदस्य विजय गुरुङ, लुम्बिनी प्रदेश बुद्धिचाल संघका संयोजक धनराम वली समेतको उपस्थिति रहेको थियो ।





