
नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट साढे ५ लाख नक्कली नोटसहित पक्राउ गरेका ३ जनालाई सार्वजनिक गरेको छ ।
प्रहरीले अछाम तुर्माखाद गाउँपालिका वडा नं-३ बस्ने ३७ वर्षीय दिपक वि.सी, सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा नं-५ बस्ने ३० वर्षीय मोहन राना र बाँके कोहलपुर नगरपालिका वडा नं-११ बस्ने ३२वर्षीय मोहन कुमाईलाई प्रहरीले बिहिवार सार्वजनिक गरेकाे हाे ।
प्रहरीले उनीहरूलाई गत मंगलबार नेपालगंज उपमहानगरपालिका वडा नं-४ न्युरोडबाट एक हजारकाे नक्कली नोट पाँच लाख ६९ हजारसहित पक्राउ गरेकाे थियाे ।
नक्कली नोटको कारोबार भइरहेको विशेष सूचनाको आधारमा तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता राम प्रसाद घर्तिमगरले जानकारी दिनुभयाे ।





